काठमाडौँ । हामीमध्ये धेरैले फेसबुक, युट्युब, टिकटकजस्ता एपहरू दैनिक प्रयोग गर्छौं र उक्त सोसल मिडियामा आएका पोस्ट तथा कन्टेन्टहरूमा लाइक कमेन्ट पनि गर्ने गर्छौँ । तर के हजुरहरूलाई हामी ले यसरी लाइक कमेन्ट गर्दा हाम्रो विवरण सिङ्गापुर हुँदै अमेरिका सम्म पुग्छ भन्ने थाह छ ? सुन्दा अपत्यारिलो लाग्न सक्छ तर हामीले सोसल मिडियामा गरेको फगत लाईक तथा कमेन्ट मार्फत हाम्रो विवरण काठमाडौंको ट्राफिक जाम भन्दा पनि जटिल यात्रा निस्किन्छ । जस मार्फत हाम्रो बानी व्यवहाँर र रुचिको विश्लेषण हुन्छ र हामीलाई हाम्रो रुची अनुसारका अन्य कन्टेन्ट र विज्ञापनको सजेस्ट हुने गर्छन ।
सहज रूपमा यसरी बुझ्नुहोस विवरणले तय गर्ने जटिल यात्रा र यसको प्रयोग
जब हामिले फेसबुक, टिकटक वा युट्युब जस्ता सोसल मिडियाको कुनै पोस्टमा लाइक वा कमेन्ट गर्छौँ तव हाम्रो मोबाइल वा कम्प्युटरले एक प्रकारको ‘संरचित अनुरोध’ अर्थात् structured request बनाउँछ। यसमा हामीले लेखेको कमेन्ट, प्रयोगकर्ता नाम (User ID), पोस्टको (ID), समय आदिको विवरण समावेश हुन्छ। यो सन्देश डिजिटल ढाँचामा तयार हुन्छ र सर्भरमा पठाउन तयार हुन्छ। सामान्य भाषामा भन्नु पर्दा सर्भर भनेको इन्टरनेटमा रहेको शक्तिशाली कम्प्युटर हो, जसले यस्ता लाखौं अनुरोध (Request) हरुलाई दिनरात भण्डारण र प्रशोधन गर्छ। उदाहरणका लागि, फेसबुकको सर्भर अमेरिका, आयरल्यान्ड वा सिङ्गापुरजस्ता देशमा रहेका छन ।
यो सर्भरले हाम्रो अनुरोधलाई पढ्छ, हामी को हौँ भनेर प्रमाणित गर्छ, र हाम्रो कमेन्ट वा लाईकलाई सुरक्षित रूपमा आफ्नो डाटाबेसमा राख्छ। साथै, पोस्ट बनाउने व्यक्तिलाई समेत यसबारे सूचित (notify) गर्छ । यी सर्भरहरू विशेष डाटा सेन्टरभित्र राखिएका हुन्छन्। डाटा सेन्टर भनेको ठूलो भवन हो, जहाँ सयौं कम्प्युटर (सर्भर) हुन्छन्। यसरी सुरक्षित तवर बाट राखिएका विवरणलाई सोसल मिडिया कम्पनीहरुले विज्ञापनदाताहरूलाई लक्षित गर्न, हामीलाई मनपर्ने सामग्री देखाउन र हामीलाई प्लेटफर्ममा लामो समयसम्म टिकाउनको लागी प्रयोग गर्छन । यस मार्फत हाम्रो छुट्टै डिजिटल प्रोफाइल बन्छ भन्ने बुझ्न सकिन्छ । जसको आधारमा हामी लाई अन्य पोस्ट , भिडिओ तथा विज्ञापन देखाउने गरिन्छ ।
झट्ट सुन्दा हाम्रो रुची लाई मध्यनजर गर्दै यदी कुनै पोस्ट तथा विज्ञापन देखाइनु कुनै समस्यादायी कुरा होइन भन्ने पनि लाग्न सक्छ तर कहिलेकाहीँ यी डाटाहरू गलत उद्देश्यका लागि पनि प्रयोग भएका उदाहरण प्रकाशित भएका छन । उदाहरणका लागी सन् २०१८ मा फेसबुकसँग जोडिएको ‘क्याम्ब्रिज एनालिटिका’ प्रकरण लाई लिन सकिन्छ । जसमा लाखौं प्रयोगकर्ताको व्यक्तिगत डाटा अनैतिक तवरले चुनावी प्रचारमा प्रयोग गरिएको थियो। त्यस्तै, टिकटकमाथि पनि बेला बेलामा अमेरिकी प्रयोगकर्ताको डाटा चीनमा पठाइएको आरोप लाग्ने गरेको छ ।