काठमाडौं — टेक जाइंट कम्पनी मेटाको अधीनमा रहेको लोकप्रिय म्यासेजिङ एप्लिकेशन WhatsApp ले चाँडै एउटा नयाँ सुविधा सार्वजनिक गर्न लागेको छ जसले प्रयोगकर्तालाई महत्त्वपूर्ण सन्देशहरूको जवाफ दिन सम्झाइदिनेछ।
हाल यो सुविधा एन्ड्रोइडको बेटा संस्करणमा परीक्षण भइरहेको छ। यसमार्फत् प्रयोगकर्ताले कुनै पनि सन्देशमा टच गरेर ‘Remind Me’ भन्ने विकल्प छान्न सक्नेछन्। त्यसपछि उनीहरूले दुई घण्टा, आठ घण्टा वा २४ घण्टा जस्ता पूर्वनिर्धारित समय वा आफैंले मन लागेको समय सेट गर्न सक्नेछन्।
रिमाइन्डर सेट गरेपछि सन्देशको छेउमा एउटा बेलको आइकन देखिनेछ र जब तोकिएको समय पुग्छ, तब प्रयोगकर्तालाई उक्त सन्देशको सामग्री, पठाउने व्यक्तिको नाम, र कुनै मिडिया फाइल भए त्यसका साथ एक सूचना प्राप्त हुनेछ।
यो सुविधा हाल सानो समूहमा मात्रै परीक्षण भइरहेकाले छिट्टै थप प्रयोगकर्ताहरुलाई उपलब्ध गराइने बताइएको छ। यद्यपि, प्रयोगकर्ताका लागि यसको आधिकारिक रिलिज मिति अहिलेसम्म घोषणा भएको छैन।
WhatsAppले यसैगरी, आफ्ना सबैभन्दा बढी सम्पर्कमा रहेका व्यक्तिहरूको पढ्न बाँकी सन्देशहरूको सूचना दिने अर्को नयाँ सुविधा पनि विकास गरिरहेको बताइएको छ जसले प्रयोगकर्तालाई महत्वपूर्ण कुराकानीमा सजग राख्नेछ।