युट्युबले प्रयोगकर्ताको उमेर मेशिन लर्निङबाट अनुमान गर्ने नयाँ प्रणाली सुरू गर्दै
काठमाडौँ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबले अब प्रयोगकर्ताको उमेर गतिविधि हेरेरै अनुमान गर्न सुरु गर्ने भएको छ। प्रयोगकर्ताले खाता बनाउँदा दिएको जन्ममिति मात्रमा भर नपरी, कम्पनीले मेशिन लर्निङ प्रणालीमार्फत उमेर अनुमान गर्ने नयाँ प्रविधिको परीक्षण सुरु गर्न लागेको हो।
यो प्रणाली सन् २०२५ अगस्ट १३ बाट संयुक्त राज्य अमेरिकामा सीमित संख्याका प्रयोगकर्तामाथि परीक्षण गरिनेछ। परीक्षण सफल भएमा अन्य मुलुकहरूमा पनि क्रमशः विस्तार गरिने युट्युबले जनाएको छ।
बालबालिकामाथि स्वतः सीमितता लागू
उमेर १८ वर्षभन्दा कम अनुमान गरिएका प्रयोगकर्तामाथि युट्युबले बालमैत्री नीति लागू गर्नेछ। त्यसअनुसार, ती प्रयोगकर्तालाई निम्न प्रकारका सीमितता लागु हुनेछ:
- पर्सनलाइज्ड विज्ञापन नदेखिने
- ‘ब्रेक लिनुहोस्’ भन्ने स्मरणहरू आउने
- उमेरसम्बन्धी प्रतिबन्धित सामग्री हेर्न नपाइने
- संवेदनशील विषयका भिडियोहरू बारम्बार देखिने प्रवृत्तिमा रोक लगाइने
- कमेन्ट गर्ने वा भिडियो अपलोड गर्ने बेला अतिरिक्त सावधानी अपनाइने
गलत अनुमान भए प्रमाणसहित उमेर पुष्टि गर्न सकिने
यदि युट्युबले उमेर गलत अनुमान गर्यो र प्रयोगकर्ता वास्तवमै १८ वर्षभन्दा माथिका छन् भने, प्रयोगकर्ताले सरकारद्वारा जारी परिचयपत्र, क्रेडिट कार्ड वा सेल्फी प्रयोग गरि आफ्नो वास्तविक उमेर प्रमाणित गर्न सक्नेछन्।
बालसुरक्षालाई प्राथमिकता
बालबालिका र किशोरकिशोरीको डिजिटल सुरक्षासम्बन्धी बढ्दो चासोलाई मध्यनजर गर्दै युट्युबले यो कदम चालेको हो। अमेरिका, बेलायत तथा युरोपेली संघजस्ता मुलुकमा कडा उमेर प्रमाणीकरण नियमहरू लागु गरिन थालेसँगै, युट्युबले समेत उमेर पहिचानमा प्रविधिको प्रयोग गर्न थालेको हो।
यस प्रविधिले केही सर्जकहरूको विज्ञापन आम्दानीमा प्रभाव पार्न सक्ने अनुमान पनि गरिएको छ, किनभने १८ वर्षभन्दा कम अनुमान गरिएका प्रयोगकर्तालाई पर्सनलाइज्ड विज्ञापन देखाउन पाइँने छैन।