काठमाडौँ । बुटवल पब्लिक स्कूल, तिलोत्तमा–३, योगीकुटी रुपन्देहीका कक्षा १० मा अध्ययनरत छात्र शिवान्चु डुम्रेले चौथो अन्तर्राष्ट्रिय ओलिम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स-जुनियर (IOAA-jr 2025) मा नेपाललाई प्रतिनिधित्व गर्ने भएका छन्।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार डुम्रेले यही आउँदो अक्टोबर १८ देखि २५ सम्म रोमानियाको प्यात्रा-न्याम्ट, मोल्डोभामा आयोजना हुने चौथो संस्करणको अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुने पक्का भएको हो।
चयनपछि आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत साझा गर्दै डुम्रेले लेखेका छन्, “सानो चासो र जिज्ञासाबाट सुरु भएको मेरो एस्ट्रोनोमीको यात्रा अहिले राष्ट्र प्रतिनिधित्वसम्म आइपुगेको छ। अब यो केवल रुचिको विषय मात्र नभएर, अपार ब्रह्माण्डको सौन्दर्यप्रति एउटा गहिरो मोह बनेको छ।”
उनी रातको समयमा खिचिएका आकाशका तस्वीर (astrophotography) मार्फत एस्ट्रोनोमीप्रति आकर्षित भएको बताउँछन्। उनले लेखेका छन्, “ ब्रह्माण्डको जटिल यन्त्रणा (Universe’s Complex Mechanism) यति सुन्दर छ कि म अनन्तकालसम्म रातको आकाश नियालिरहन सक्छु।”
डुम्रेले आफुलाई प्रेरणा दिएकोमा परिवार, केही विशेष शिक्षकहरू र NASO टोलीप्रति आभार व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर (IOAA-jr) १४ वर्षमुनिका विद्यार्थीका लागि आयोजना गरिने प्रतिस्पर्धात्मक प्रतियोगिता हो, जसमा विश्वभरका प्रतिभावान विद्यार्थीहरूबीच एस्ट्रोनोमीसम्बन्धी ज्ञान र क्षमता प्रदर्शन गरिन्छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले ‘नेशनल एस्ट्रोनोमी ओलम्पियाड (NAO)’ कार्यक्रममार्फत यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधि छनोट गर्दै आएको छ।