काठमाडौं । गुगलको नयाँ हेल्थकेयर एआई ‘Med-Gemini’ मा आएको गल्तीले चिकित्सा क्षेत्रमा ठूलो विवाद सिर्जना भएको छ। मस्तिष्कको स्क्यान जाँच्दा यसले ‘basilar ganglia’ नामक अनौठो ठाउँमा समस्या देखाएको थियो, जुन वास्तवमा एक्जिस्ट नै गर्दैन।
खासमा ‘basal ganglia’ हुनुपर्ने थियो, जुन मस्तिष्कको एक महत्वपूर्ण भाग हो। यसले बडी मुभमेन्ट र इमोशन रेगुलेसनमा मदत गर्छ। तर एआईले यसलाई ‘basilar artery’ सँग जोडिदियो, जुन पूर्ण रूपमा फरक संरचना हो। यस्तो गडबडी सानो जस्तो देखिए पनि, चिकित्सा क्षेत्रमा यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार, यो गल्ती गुगलले यस वर्ष प्रकाशित गरेको रिसर्च पेपर र ब्लग पोस्टमा देखिएको हो। उक्त त्रुटि गुगल आफैले थाहा पाएको थिएन। पछि न्यूरोलोजिस्ट ब्रायन मूरले पत्ता लगाएपछि निजी रूपमा कम्पनीलाई सचेत गराएका थिए। त्यसपछि गुगलले चुपचाप ब्लगपोस्टमा संशोधन गर्दै ‘basal ganglia’ भन्ने सही शब्द प्रयोग गर्यो, तर सम्पादनबारे कुनै जानकारी सार्वजनिक गरेन। यद्यपि, सो सम्बन्धित अनुसन्धानपत्र भने अझै पनि अपडेट गरिएको छैन।
गुगलले यो मात्र टाइपो भएको बताएको छ, तर चिकित्सकहरू यसलाई एआई हल्युसिनेसनको उदाहरण भन्दै बेवास्ता गर्न नमिल्ने चेतावनी दिएका छन्। चिकित्सक मौलिन शाहले भनेका छन्, “थोरै शब्द परिवर्तनले नै फरक रोग पहिचान र उपचार योजना निर्धारण गर्न सक्छन्। त्यसैले चिकित्सकहरूले एआईबाट आएको नतिजामा अन्धविश्वास गर्नु हुँदैन।”
अर्कोतर्फ, गुगलले अस्पतालमा यो एआईको परीक्षण पनि शुरु गरिसकेको छ। यसको अर्को मोडल ‘मेडजेम्मा’ मा पनि जटिल प्रश्नमा सही जवाफ आए पनि सरल प्रश्नमा त्रुटि देखिएको छ।
अझ चिन्ताजनक कुरा के छ भने, गुगलले यो एआई प्रणालीलाई वास्तविक अस्पतालको वातावरणमा परीक्षण गर्न सुरु गरिसकेको छ। यसको अर्को मोडल, ‘MedGemma’ मा पनि त्रुटि देखिएको छ। कतिपय अवस्थामा जटिल प्रश्नमा पनि सही निष्कर्ष दिने गर्दा, सरल प्रश्नमा समस्या पहिचान गर्न सकिरहेको छैन। यस्तो त्रुटिले चिकित्सा क्षेत्रमा ठूलो जोखिम निम्त्याउन सक्छ।
विशेषज्ञहरूको भनाइ अनुसार, स्वास्थ्य क्षेत्रमा एआई उपयोगी छ, तर यसका नतिजा चिकित्सकहरूले पुनः परीक्षण गर्नैपर्छ। रेडियोलोजिस्टहरूले भनेका छन्, “यी प्रणालीहरू ‘मलाई थाहा छैन’ भन्दैनन्, बरु विश्वसनीय लाग्ने तर गलत नतिजा दिन्छन्, जुन जोखिमपूर्ण छ।”