काठमाडौं। विश्वकै धनीमध्ये एक फेसबुक (मेटा) का सह–संस्थापक मार्क जुकरबर्गले अमेरिकाको पेलो अल्टोको क्रेसेन्ट पार्क क्षेत्रमा करिब १४ अर्ब नेपाली रुपैयाँ (११० मिलियन अमेरिकी डलर) मूल्यको निजी सम्पत्ति बनाएका छन्। यो सम्पत्ति ११ वटा अलग-अलग घरहरु मिलेर बनेको विशाल कम्पाउन्ड हो, जुन विगत १४ वर्षमा खरिद गरी विकास गरिएको हो।
यो ‘राजमहल’ भित्र मेन रेसिडेन्स साथै अतिथि गृह, सुन्दर बगैंचा, पिकलबल कोर्ट र स्विमिङ पूल छन्। पूलमा यस्तो आधुनिक प्रविधि छ कि यसको फर्शलाई आवश्यक अनुसार डान्स फ्लोरमा परिणत गर्न सकिन्छ। साथै, उनको पत्नी प्रिसिला चानको सात फिट उचाइको मूर्ति पनि यहाँ राखिएको छ।
यो सम्पत्तिको मुनि करिब ७ हजार वर्गफुट भूमिगत क्षेत्र रहेको छ, जसलाई छिमेकीहरूले ‘बिलियनएयर ब्याट केभ’ नाम दिएका छन्। यसमा एउटा घरलाई निजी विद्यालयका रूपमा प्रयोग गरिएको बताइन्छ, जुन स्थानीय जोनिङ नियमको उल्लंघन हुनसक्ने आशंका छ।
यस परिसरको निर्माण र विस्तारका कारण वर्षौंदेखि शोरगुल, सडक अवरुद्ध हुने समस्या र छिमेकीहरूको घरमा राखिने निगरानी क्यामेराले छिमेकीहरूमा असन्तुष्टि उत्पन्न भएको छ। यद्यपि जुकरबर्गले छिमेकीहरूसँग शान्तिपूर्ण सम्बन्ध कायम राख्न मदिरा, डोनट र शोर कम गर्ने हेडफोन जस्ता उपहार प्रदान गरे पनि विवाद टुंगिएको छैन।