काठमाडौँ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवाले उपभोक्ताहरू हैरान बनाएको भन्दै उक्त सेवा बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा, नेपाल टेलिकमले मेलापर्व, दिवस र उत्सवका अवसरमा प्रयोगकर्ताको अनुमति बिना सीआरबीटी बजाउने गरेको उल्लेख गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाउँदै रिट दायर गरिएको हो।
रिट निवेदनमा, “प्रयोगकर्ताले हरेक फोन गर्दा अनावश्यक गीत, कविता वा सन्देशहरू सीआरबीटीका रूपमा बजाइन्छ, जसले मानसिक तनाव र असहजता सिर्जना गरेको छ।” भनेर उल्लेख गरिएको छ। अधिवक्ता पोखरेलका अनुसार, “यो प्रक्रिया प्रयोगकर्ताको स्वीकृति बिना गरिएकोले, दूरसञ्चार सेवामा अप्रत्यक्ष अवरोध र गुणस्तरमा गिरावट आएको छ।” सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि यस सेवाविरुद्ध व्यापक विरोध भइरहेको देख्न सकिन्छ।
यसले गर्दा उपभोक्ताहरू अन्य निजी दूरसञ्चार सेवाप्रति आकर्षित भई राज्यको आम्दानी र राजस्वमा गम्भीर असर परेको रिटमा जिकिर गरिएको छ ।
अधिवक्ता पोखरेलले भनेका छन्, “माथिल्लो निकायको आदेश र निर्देशनमा टेलिकमले सीआरबीटी बजाउने गरेको छ । यो बन्द गर्न माग गर्दै मैले रिट दायर गरेको हुँ ।”
प्राप्त जानकारी अनुसार, गत साउन १९ गते सर्वोच्च अदालतमा दायर गरिएको रिटलाई प्रारम्भमा रजिस्ट्रार मानबहादुर कार्कीले दरपीठ गरेका थिए । साउन २१ गते दरपीठ भएपश्चात् अधिवक्ता पोखरेलले त्यसलाई बदर गर्न माग गर्दै साउन २६ गते पुनः निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दरपीठको आदेशलाई बदर गरेको थियो।
गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुनै पनि सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्थाको स्थापना दिवस वा विशेष दिवससँग सम्बन्धित जानकारीमूलक सन्देश वा धुन नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिमा टेलिकम कम्पनीहरूले शुल्क लिएर बजाउन पाउने व्यवस्था गरेको थियो ।