काठमाडौं । अमेरिकाको एक संघीय अदालतले गुगललाई डिजिटल विज्ञापन प्रविधिमा अवैध एकाधिकार कायम गरेको ठहर गरेको छ । अमेरिकाको पूर्वी भर्जिनियाको स्थित एलेक्जेन्ड्रिया जिल्ला अदालतले गुगललाई दोषी ठहर गरेको हो ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार २०२५ अप्रिल १७ मा न्यायाधीश लियोनी ब्रिंकमाले गुगलले प्रकाशक विज्ञापन सर्भर (DFP) र विज्ञापन एक्सचेन्ज (AdX) बजारमा आफ्नो प्रभुत्व कायम गर्न अनुचित अभ्यासहरू अपनाएको ठहर गरेकी हुन् ।
अदालतले गुगलले यी दुई सेवाहरूलाई एक आपसमा बाध्यात्मक रूपमा बाँधेर प्रतिस्पर्धालाई रोक्ने कार्य गरेको बताएको छ। यसले प्रकाशकहरूलाई सीमित विकल्पहरूमा बाँधेर उनीहरूको स्वतन्त्रता र बजार प्रतिस्पर्धामा बाधा पुर्याएको जनाइएको छ ।
अदालतको यो निर्णयपछि अब गुगलले आफ्नो विज्ञापन प्रविधि व्यवसायको केही भागहरू बिक्री गर्न बाध्य हुनसक्छ । जसमा प्रकाशक विज्ञापन सर्भर र विज्ञापन एक्सचेन्ज समावेश छन्। यसले डिजिटल विज्ञापन बजारमा प्रतिस्पर्धा पुनःस्थापित गर्न मद्दत पुर्याउने अदालतको अपेक्षा रहेको छ ।
यता गुगलले भने अदालतको यो निर्णयका केहि भागहरुमा असहमती जनाउँदै उच्च अदालतमा अपिल गर्ने जनाएको छ । कम्पनीका अनुसार, “प्रकाशकहरू गुगलका उपकरणहरू सरल, किफायती र प्रभावकारी भएकाले छनौट गर्छन्, र यसले प्रतिस्पर्धालाई प्रोत्साहन दिन्छ।”अदालतको यो निर्णयलाई प्रविधि क्षेत्रमा प्रतिस्पर्धा सुनिश्चित गर्न अमेरिकी न्याय विभाग (डोज्) द्वारा चलाइएको कानुनी कारबाहीमा महत्वपूर्ण सफलताको रुपमा समेत व्याख्या गरिएको छ ।