काठमाडौँ – आगामी डिसेम्बर १०, २०२५ देखि अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहित प्रमुख सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ।
यो निर्णय सरकारको नयाँ सामाजिक सञ्जाल नीति अन्तर्गत आएको हो, जसअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, एक्स (पूर्व ट्विटर), रेडिटलगायत प्लेटफर्ममा बालबालिकाले खाता खोल्न वा चलाउन नपाउने व्यवस्था गरिएको छ। पछिल्लो निर्णयपछि सुरुमा छुट दिइएको युट्युब पनि प्रतिबन्ध सूचीमा समावेश गरिएको छ।
सरकारले यो निर्णय ई–सेफ्टी आयुक्तको सिफारिसमा गरेको हो। आयुक्त जुली इनम्यान ग्रान्टका अनुसार युट्युब बालबालिकाले ‘हानिकारक सामग्री’ सर्वाधिक हरेको प्लेटफर्म हो। एक अध्ययनमा ३७ प्रतिशत नाबालकले युट्युबमा त्यस्ता सामग्री देखेको बताएका थिए।
सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना सेवामा १६ वर्षमुनिका प्रयोगकर्ताहरूलाई पहुँच नदिने “यथोचित कदम” चाल्नुपर्ने जनाएको छ। यो नियम नमान्ने प्लेटफर्महरूलाई अष्ट्रेलियन डलर ४ करोड ९५ लाख (लगभग ५४ करोड नेपाली रुपैयाँ) बराबर जरिवाना लाग्न सक्छ।
यद्यपि, बालबालिकाले युट्युब बिना लगइन हेर्न भने पाउनेछन्। विद्यालय वा अभिभावकको निगरानीमा बालबालिकालाई शैक्षिक प्रयोजनमा युट्युब देखाउन मिल्नेछ। तर १६ वर्ष नपुगेका व्यक्तिले व्यक्तिगत रूपमा खाता खोल्न, भिडियो अपलोड गर्न वा प्रतिक्रिया जनाउने अनुमति भने रहने छैन।
उक्त नियम अनुसार, प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर प्रमाणित गर्न प्रविधि विकास गर्नुपर्नेछ। उमेर प्रमाणिकरणका क्रममा प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्ने, वैकल्पिक तरिका दिने र संकलित विवरण अन्य प्रयोजनमा प्रयोग नगर्ने व्यवस्था गरिनुपर्नेछ।
प्रधानमन्त्री एन्थोनी आल्बानिजेले यस नीति अन्तर्राष्ट्रिय रूपमा पनि प्रवर्द्धन गर्ने बताएका छन्। उनीले आगामी राष्ट्रसंघीय महासभामा यो विषयमा प्रस्ताव लैजाने तयारी गरिरहेको बताइएको छ।