काठमाडौं । क्लाउडफ्लेयरले एआई कम्पनी पर्प्लेक्सिटीमाथि हजारौँ वेबसाइटहरूले स्पष्ट रूपमा लगाएका crawling प्रतिबन्धहरू उल्लंघन गरी अवैध रूपमा डेटा सङ्कलन गरेको आरोप लगाएको छ ।
क्लाउडफ्लेयरका अनुसार, पर्प्लेक्सिटीले आफ्नो आधिकारिक बोट ‘PerplexityBot’ लाई अवरुद्ध गरिएपछि आफूलाई ‘क्रोम ब्राउजर’ जस्तो देखाएर वेबसाइटहरूमा प्रवेश गरेको छ । यसरी stealth crawling प्रविधि प्रयोग गरी पर्प्लेक्सिटीले करोडौं अनुरोधहरू सहित हजारौं डोमेनका वेबपेजहरूबाट सामग्री सङ्कलन गरेको छ ।
यस क्रममा पर्प्लेक्सिटीले आईपी ठेगाना र नेटवर्क पहिचान पनि लगातार परिवर्तन गरेको क्लाउडफ्लेयरले बताएको छ ।
क्लाउडफ्लेयरले पर्प्लेक्सिटीलाई आफ्नो विश्वसनीय बोट सूचीबाट हटाउँदै यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न नयाँ सुरक्षा नियमहरू लागू गरेको छ ।
पर्प्लेक्सिटीका प्रवक्ताले क्लाउडफ्लेयरको आरोपलाई “प्रचार रणनीति” भनेका छन् । उनीहरूले सबै आरोपलाई अस्वीकार गर्दै केही crawling हरू पर्प्लेक्सिटीको नभएको दाबी गरेका छन् ।
यो घटनाले एआई कम्पनीहरू र वेबसाइट सञ्चालकहरूबीच डाटा पहुँच र सामग्री सुरक्षा सम्बन्धी विवाद निम्त्याएको छ । वेबसाइटहरूले प्रयोग गर्ने ‘robots.txt’ जस्ता प्रतिबन्धलाई उल्लंघन नगर्नु नै वेब इकोसिस्टमको आधारभूत मापदण्ड मानिन्छ ।
क्लाउडफ्लेयरको रिपोर्ट सार्वजनिक भएपछि वेब सुरक्षा र एआई डाटा सङ्कलनबीचको सन्तुलन कसरी कायम राख्ने भन्ने विषयमा थप बहसहरू उठिरहेको छ ।