काठमाडौँ — चर्चित बेलायती ब्याण्ड कोल्डप्ले को बोस्टनमा गत बुधबार राति सम्पन्न कन्सर्ट अहिले विश्वभरको चर्चाको बिषय बनेको छ।
कारण हो — प्रविधि क्षेत्रका दुई उच्चपदस्थ व्यक्तित्वबीचको विवाहेत्तर सम्बन्ध क्यामेरामा कैद हुनु र त्यो दृश्य ‘किस क्याम’ मार्फत हजारौँ दर्शकसम्म पुग्नु।
कोल्डप्लेका गायक क्रिस मार्टिन स्टेजमा प्रस्तुति दिइरहेका बेला स्क्रिनमा एक जोडी देखिए, जसलाई क्यामेराले क्लोजअपमा समातेपछि मार्टिनले हाँस्दै भने, “ओ, हेर्नुस् यी दुईलाई।”
उक्त जोडी अरू कोही नभई Astronomer नामक प्रविधि कम्पनीका सीईओ एन्डी बायरन र सोही कम्पनीकी Chief People Officer (मानव संसाधन प्रमुख) क्रिस्टिन क्याबोट रहेको पुष्टि भएको छ।
भाइरल भिडियोमा बायरन र क्याबोट एकअर्कालाई अंगालो हालेर उभिएको देखिन्छ। तर क्यामेराको लेन्स उनीहरूतर्फ फर्किएपछि दुबैजना हतारिँदै अलग हुन्छन्— क्याबोटले अनुहार छोप्छिन् भने बायरन झुक्दै क्यामेराबाट लुक्न खोज्छन्।
गायक मार्टिनले त्यसपछि टिप्पणी गरे, “या त उनीहरू अफेयरमा छन्, या धेरै लजालु छन्।” उक्त क्षणले दर्शकहरूलाई हाँस्न बाध्य बनायो, तर त्यही दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन पुग्यो।
घटनापछि बायरनले संक्षिप्त विज्ञप्ति जारी गर्दै माफी मागेका छन् र आफ्नो परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्। क्याबोटले सामाजिक सञ्जालबाट आफ्नो थर परिवर्तन गरेको पाइएको छ भने बायरनकी पत्नीले फेसबुक एकाउन्ट हटाएको The Sun लगायतका मिडियाले उल्लेख गरेका छन्।
उक्त दृश्यले एकाएक सम्बन्धको खुलासा गरिदिएपछि विश्वभरका सञ्चारमाध्यमले समाचार बनाएका छन्। टिकटक, ट्विटर, रेड्डिटजस्ता सामाजिक सञ्जालमा भिडियो व्यापक रूपमा फैलिएको छ। प्रयोगकर्ताहरूले उक्त घटनालाई लिएर आ-आफ्ना धारणा राखेका छन् — कसैले नाटक भनेका छन्, कसैले अनैतिक व्यवहारको आलोचना गरेका छन्।