काठमाडौं, साउन १५। चिनियाँ अटो निर्माता चांगनको विद्युतीय सवारी ब्रान्ड ‘डीपल’ (Deepal) को नयाँ कम्प्याक्ट एसयूभी S05 नेपाली बजारमा भित्रिएको छ। डीपल गाडीको नेपालका लागि आधिकारिक वितरक MAW Vriddhi Autocorpले यस मोडललाई आगामी नाडा अटो शो २०२५ मार्फत सार्वजनिक रूपमा प्रदर्शन गर्ने हो।
एस०५को मूल्य:
नेपालमा डीपल S05 तीन फरक भेरियन्टमा उपलब्ध हुनेछः
- S05 Lite — मूल्य रु ६२ लाख ९९ हजार
- S05 Plus — मूल्य रु ६५ लाख ९९ हजार
- S05 Max — मूल्य रु ६७ लाख ९९ हजार
बिक्री हुने समयमा मूल्य भने थपघट हुन सक्ने कम्पनीले जनाएको छ।
५१० किलोमिटर सम्मको दाबी गरिएको रेन्ज
S05 मा ५६.१२ किलोवाट आवरको लिथियम फेरो फस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको चार्जमा ५१० किलोमिटर सम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। यसमा करिब ९९ किलोवाट (१३५ HP) क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले रियर–व्हील ड्राइभ (RWD) सिस्टममार्फत गाडी चलाउँछ।
डिजाइन र इन्टेरियरमा अत्याधुनिकता
गाडीको डिजाइनमा ‘इण्टरस्टेलर फ्लाइङ विङ’ भन्ने अवधारणामा आधारित भविष्यमुखी लुक्स दिइएको छ। अगाडि आकर्षक स्लिम एलईडी हेडलाइट, प्यानोरामिक सनरूफ र स्पोर्टी बडी लाइनहरू छन्। इन्टेरियरमा १५.४ इञ्चको रोटेट हुने 2.5K टचस्क्रिन, AR-HUD (Augmented Reality Head-up Display), डी-शेप स्टेरिङ व्हील, र १४ स्पिकर युक्त अडियो सिस्टम जस्ता अत्याधुनिक फिचर रहेको बताइएको छ।
सुरक्षा र स्मार्ट फिचरहरू प्रशस्तै
गाडीमा ६ वटा एयरब्याग, ABS, ESC, ADAS, ब्रेक असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा, पार्किङ असिस्ट, ल्यान सेण्टरिङ लगायत थुप्रै सुरक्षा र चालक सहायताका प्रविधिहरू उपलब्ध छन्। साथै, यसमा V2L (Vehicle to Load) सपोर्ट पनि छ, जसबाट गाडीको ब्याट्रीमार्फत अन्य उपकरण चार्ज गर्न सकिन्छ।
नेपाली EV बजारमा पछिल्लो समय देखिएको तीव्र प्रतिस्पर्धाबीच डीपलको S05 ले नयाँ विकल्प प्रस्तुत गरेको छ। स्टाइल, प्रविधि, दूरी क्षमता र मूल्यका हिसाबले यो गाडी EV खोज्ने उपभोक्ताका लागि सशक्त रोजाइ बन्न सक्ने सम्भावना देखिएको छ।