काठमाडौं — हालै एआई जडित ह्युमानॉइड रोबोट DeREK को एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। सार्वजनिक भएको भिडियामा रोबोट क्रेनबाट झुण्डिएर अनियन्त्रित रूपमा हल्लिदै गरेको देख्न सकिन्छ। भिडियोमा सो एआई जडित ह्युमानॉइड रोबोटले उपकरणहरू खसाल्नुको साथ साथै क्रेन नै ढालेर बिगारेको समेत देख्न सकिन्छ।
सफ्टवेयर बग इन्जिनियरहरूका अनुसार यो अनियन्त्रित गतिविधि सफ्टवेयरको त्रुटिका कारण भएको बताएका छन्। DeREK को सम्पूर्ण शरीर नियन्त्रण प्रणाली सक्रिय भएको बेला उसका खुट्टा जमिनमा नलागेका कारण यसको सन्तुलन प्रणाली फिडब्याक लूपमा फसेको थियो। त्यसको परिणामस्वरूप यस्तो अनियन्त्रित र आक्रामक गतिबिधि देखियो, जुन मानौं रोबोटको आवेग जस्तै थियो। यस घटनाले रोबोटलाई दिर्घकालीन रूपमा हानि भने नपुर्याएको बताइएको छ।
विज्ञहरूका अनुसार यो कुनै एआई बिग्रिएको क्षण होइन, सामान्य प्रोग्रामिङ त्रुटि मात्र हो। यस्ता रोबोटहरूलाई जनजीवनमा छोड्नुअघि कडा परीक्षण आवश्यक रहेकोमा पनि उनीहरूले जोड दिएका छन्।
सामाजिक सञ्जालमा यस घटना सम्बन्धी मजाकदेखि लिएर सुरक्षाबारे गम्भीर चिन्तासम्मका विषय उठिरहेका छन्। एआई प्रविधि जडित ह्युमानॉइड रोबोटले आफैंलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेपछि, यसले मानिसहरूलाई समेत क्षति पुर्याउने हो कि? भन्ने जस्ता गम्भीर प्रश्नहरू उठिरहेका छन्। यो विषयमा हाल विश्वभर गम्भीर बहस चलिरहेको छ, जहाँ यस्ता उन्नत रोबोटहरूले मानव जीवनमा पार्न सक्ने सम्भावित क्षतिबारे मानिसहरूले चिन्ता व्यक्त गरिरहेका छन्।
यस घटनाको बावजुद, DeREK जस्ता रोबोटहरूले कारखाना, स्वास्थ्य सेवा र मनोरञ्जन क्षेत्रहरूमा ठूलो सम्भावना राख्ने अधिकांश विशेषज्ञहरूको मत रहेको छ।