काठमाडौं । सन्, २०२५ जुलाई ३० तारिख बेलुकाको ८.२७ मा पूर्वयुवराज हृदयेन्द्र शाहले सामाजिक संजाल फेसबुक मार्फत एउटा भ्लग सार्वजनिक गरे । अङ्रेजी भाषामा लेखिएको शिर्षक सहित , जसको भावनुवाद सायद यस्तो हुन आउँछ , ” मेरो जुम्ला यात्रा , पहिला स्पर्श नभएको प्राकृतिक ठाउँमा मनले डोराएको यात्रा, यस ठाउँलाई घर मान्ने अतुलनिय मानिसहरुसँगको साक्षात्कार , परम्परागत सोचाइ भन्दा परको नेपाल- कच्चा , वास्तविक र अविस्मरणीय ! जुम्ला तपाईंको आत्मीयताका लागि धन्यवाद।”
१५. २३ सेकेण्डको भ्लगमा हृदयेन्द्र हृदय देखि नै जुम्लाको मनमोहकतामा डुबेको भ्लगमा प्रष्ट देखिन्छ । भ्लगको इन्ट्रो शट न्यारेशन , ड्रोन शट , भ्लगको इडिटिङ आदी पक्षलाई नियाल्ने हो भने पनि साधारण दर्शकले ति पक्षमा खोट लगाउने पक्ष खास्सै देखिदैन । भिजुअल स्टोरी टेलिङमा माहिर दर्शकले यि पक्षलाई कसरी लिन्छन् वा हेर्छन्, त्यो विषयको किटान गरिदिन सक्ने ल्याकत भने म सँग छैन ।
नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य कैयौँ भ्लग भन्दा मलाई हृदयेन्द्रको भ्लग धेरै कलात्मक लागेको छ । सामाजिक संजाल देखि मुलधारे मिडिया सम्ममा भएको उनको त्यो भ्लगको चर्चा देख्दा लागेको छ यस्तो लाग्नेमा म एक्लो छैन ।

भिडिओ मेकिङमा लागेकाहरु माझ एउटा ट्रम प्रख्यात छ स्ट्राटिङ हुक ! अर्थात भिडिओको सुरुवातमा सुनिने त्यो लाइन जसले दर्शकहरुलाई त्यो भिडिओमा अडाइ राख्न वा हेरिरहन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हृदयेन्द्रले त्यही हुकको रुपमा प्रयोग गरेका छन्, कर्णाली कै विरही भाकामा रहेको ‘कोइ सुन्दैन, कोइ सुन्दैन कान्नाली रोयाको आवाज’ । ब्याकग्राउण्डमा बजेको यो गीत , सुन्दर सिनेम्याटिक शट र हृदयेन्द्रको न्यारेशनले दर्शकलाई मज्जाले बाधेर राख्ने क्षमता बोकेको छ । सुरुवात देखि नै एक तहको उत्सुकता जगाएको छ । त्यो उत्सुकताले त्यतिबेला न्याय पाएको छ , जतिबेला उनी त्यहाँका स्थानियसँग भद्र शालिन र विनम्र शैलीमा कुरा गर्न सुरु गर्छन् ।
हृदयेन्द्र राजसी विरासत लिएर , दरबारमा हुर्किएर विलासितालाई मज्जासँग उपोभोग गरेका पात्र हुन्, । यो बाहेक मलाई…. सायद यो लेख पढ्दै गरेका तपाईहरुलाई पनि हृदयेन्द्रको बारे थप कुरा थाह छैन । यस अर्थमा उनी एक रहस्यमयी पात्र हुन्, भन्दा अनर्थ नलाग्ला । म सबै कुरामा तपाईहरुलाई जोड्दिन तर म भित्र खै कसले भरिदिएको धारणाले गर्दा हो अलिक बढि नै सम्पन्नशाली व्यक्तिहरु आम मान्छेसँग भुइमान्छेसँग खुलेर बोल्दैनन्, भुइमान्छेको कुरा सुन्न त्यति रुचाउँदैनन्, भन्ने लागेको थियो । काठमाडौंमा म डेरामा बस्ने घरको अगाडि पनि एउटा बढो भिआपी कहलिएका मुन्छे बस्छन्, मैले विगत २ वर्षमा ति मुन्छे , तिनका परिवारका सदस्य कसैलाई पनि कोही छिमेकिसँग बोलेको देखेको छैन । घर नजिकै एउटा चिया पसल छ त्यहाँ जाँदा मैले मेरै उमेरका केहि युवाहरुसँग कम्तिमा मुस्कान साट्ने सम्बन्ध बनाएको छु , टेबल प्याक हुँदा सँगै बसेर चिया पिउने सम्म बाटो बनाएको छु तर त्यो चिया पसलमा ति भिआइपिका सुपुत्र कहिल्यै चिया पिउन आएको देखेको छैन । कफी पिउन आएको देखेको छैन , हटलेमन पिउन आएको देखेको छैन , दुनोट खान आएको देखेको छैन धुम्रापान गर्न आएको देखेको छैन । धुम्रापान त नगरेकै राम्रो तर के उनले बाहिरको चिया, कफी , हटलेमन केहि पिउँदैनन होला त ? कि म जाने म जस्ता कैयौँ मध्यम वर्गिय जाने ठाउँमा गएर चाँही पिउँदैनन्, होला ?
हृदयेन्द्रको भ्लग नआउने बेला सम्म लाग्थ्यो , उनी ( छिमेकी भिआइपीका छोरा ) म जाने ठाउँमा आएर चाँही चिया कफी पिउँदैनन्, तर हृदयेन्द्रको भ्लगमा हृदयेन्द्र जब सानो कफी तथा बेकरी दोकानमा छिरे मिल्क कफी मगाए , चिज केक खाए, वान पिस एनिमे बारे सोधे तब लाग्यो मेरो छिमेकी भिआइपीका छोरा हेल्थ कनिस्यस भएर म जाने चिया पसलमा नआएका पनि हुन सक्छन् । धैर्यताका साथ हृदयेन्द्रले जब सिँञ्जा भ्याली, मार्सी चामल, रैथाने स्याउ , रारा ताल सबैको बारेमा सुने , भुइमान्छेसँग जुन विनम्रता साथ प्रस्तुत भए उनको त्यो पक्षले मलाई प्रभावित बनाएकै हो । त्यो अनुभुती प्रदान गरिदिएकोमा हृदयेन्द्रलाई विशेष आभार !

तर सामाजिक संजालमा उनको प्रस्तुती शैलीलाई लिएर प्रशंसकहरुले उनीमा देश बनाउने जुन ठुलो जिम्मेवारीको भारी बोकाउन खोजिरहेका छन्, म त्यो बोझ उनलाई बोकाउन भने असमर्थ छु । उनीमा क्षमता देखेर उनलाई हौसला प्रदान गर्ने हेतुले उनका समर्थकहरुले उनलाई भावी शासकको रुपमा व्याख्या गरिरहेका हुन सक्लान्, त्यो नियतमा खोट लगाउने मेरो कुचेष्टा होइन , देशका अधिकांस मानिसले चाहेमा उनी राजा बनेर वा प्रधानमन्त्री बनेर देशको बागडोर समहाल्ने ठाउँमा पुग्न सक्लान म सँग उनको क्षमतालाई प्रश्न गर्ने शंका गर्ने विज्ञता पनि छैन । तर । जहाँ सम्म मलाई थाह छ हृदयेन्द्रले आज सम्म कहिकतै कुनै पनि शासकीय स्वरुपबाट देशको शासन सत्ता समहाल्ने इच्छा व्यक्त गरेका छैनन् । उनीमा त्यो चाहना हुन्थ्यो भने
पञ्चकली बुढाले, ‘हाम्रो यो नेपाल अब कहिले समृद्ध हुन्छ होला ?’ भन्ने प्रश्न गर्दा उनले
‘मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्रो चल्यो भने त हुन्छ होला । अलिकित हामी पनि लाग्नुपर्यो, आँट गर्नुपर्यो । हुन्छ होला ।’ भन्ने उत्तर नदिइकन म त्यसैको लागि तयारी गर्दै छु मैले त्यो आँट गर्दै छु मलाई हजुर हरु जस्तै आम मान्छेको साथ चाहिएको छ पनि भन्थे होला ।
बोलीको शालिनता , विनम्रताको आधारमा मात्र उनलाई देशको शासकको रुपमा व्याख्या गर्नु पनि सायद उचित हुँदैन होला । मिठो बोलीले समर्थक कमाउन त सकिएला तर शासन गर्न त शिक्षा , भिजन, कुटनैतिक ज्ञान लगायतका विज्ञता पनि त आवश्यक हुन्छ होला । क्यामराको लेन्सबाट उनले हामी लाई जुन कलात्मक दृश्य देखाए त्यो अदभुत थियो / छ तर कुशल शासक बन्नु र कुशल कथा वाचक बन्नुमा केहि न केहि फरक त हुन्छ होला ! त्यसैले तिमी शासक बन्नु पर्छ तिमी राजा बन्नु पर्छ भनेर भर्खर देशको प्राकृतिक सौदर्यतामा रमाउन खोजेको एक २३ वर्षिय ठिटोलाई उसको इच्छा चाहना र अपेक्षा नै नबुझिकन देशको मसिया जसरी व्याख्या गर्दा उनले त्यो व्याख्यालाई प्रशंसा वा बोझ दुबैको रुपमा लिन सक्ने सम्भावना लगभग उस्तै उस्तै हुँदैन र ? बरु त्यसको सट्टा तिमी जे बन्न चाहन्छौँ त्यही बन्नु भन्ने टिप्पणी गर्दा कसो होला ? यसो गरियो भने हृदयेन्द्रले अहिले जसरी हामीलाई आफ्नो क्यामराको लेन्सले जुम्ला घुमाए , नयाँ पाठ सिकाए त्यसरी नै भोली आर्को ठाउँ पनि घुमाउलाउन , फेरी आर्को भाका सुनाउलाउन ! त्यसैले भन्दै छु हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ , बोझ होइन !
Nice