काठमाडौं । विश्वप्रसिद्ध उद्यमी एलन मस्कले एप्पलमाथि गम्भीर आरोप लगाएका छन् । मस्कले एप्पलको एप स्टोरले OpenAI लाई प्राथमिकता दिँदै XAI (उनको आफ्नै कम्पनीको एआई प्लेटफर्म) लाई दबाएको आरोप लगाएका हुन्। “एप्पलले ओपेनै का एपहरूलाई अग्रपंक्तिमा राख्दै XAI लाई दबाएको छ, जुन स्पष्ट पूर्वाग्रह हो।” मस्कले भनेका छन् ।
यति मात्र नभएर एप्पलले वाक स्वतन्त्रताको समर्थन गर्छ भन्ने दाबी गरे पनि व्यावहारिकरूपमा उनीहरूको नीति र व्यवहार विरोधाभासी रहेको समेत मस्कको आरोप रहेको छ । OpenAI को “ChatGPT” एप एप स्टोरमा लगातार अग्र स्थानमा देखिन्छ, जबकि XAI को “Grok” एप त्यति दृश्यमा देखिँदैन। मस्कको भनाइ अनुसार, एप्पलको एल्गोरिदम वा प्रक्रिया स्वयंले यस्तो प्राथमिकता सिर्जना गरिरहेको छ। उनले यसका विरुद्द कानुनी कदम चाल्ने चेतावनी पनि दिएका छन्।
यता एप्पलले भने मस्कको आरोपको खण्डन गरेको छ । कम्पनीका अनुसार, एप स्टोरमा कुनै पनि एपको स्थान प्रयोगकर्ताको समग्र अनुभव, समीक्षाको संख्या, प्रयोगको दर र गुणवत्ताका आधारमा निर्धारण हुन्छ। “एप्पलले कुनै पनि डेभलपरलाई प्राथमिकता दिँदैन,” कम्पनीले आधिकारिक रुपमा भनेको छ । मस्क र एप्पलको यो वाद – प्रतिवादले आम डेभेलपरमा भने ठूला प्रविधि कम्पनीहरूले आफ्नो प्लेटफर्म प्रयोग गरेर सिमित र पहुँच भएका कम्पनीहरुको पक्ष पोषण त गरिरहेको छैन ? भन्ने आशंका उत्पन्न भएको छ ।
यस्तो भएमा वाक स्वतन्त्रता र स्वच्छ प्रतिस्पर्धामा बाधा पुग्ने देखिन्छ । नेपालजस्ता विकासशील देशमा यस्तो प्रश्न झनै महत्त्वपूर्ण बन्छ। हाम्रो डिजिटल पहुँच सीमित छ, र यदि एप स्टोरजस्ता प्लेटफर्महरूमा पूर्वाग्रह छ भने, वैकल्पिक विचार वा प्रविधिहरू उपेक्षित हुन सक्छन्।