काठमाडौँ। पछिल्ला दिनमा सामाजिक सञ्जालमा एउटा समाचार तीव्र गतिमा फैलिरहेको छ। यदि नेपालले फेसबुकजस्ता प्ल्याटफर्म बन्द गर्यो भने प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च पदस्थलाई अमेरिकाले भिसा नदिने अरे ! तर तथ्यहरूले भने यस्ता भनाइलाई समर्थन गरेको पाइन्न। र यो समाचार विभिन्न नीतिहरूको गलत व्याख्या र अतिरञ्जनाबाट उत्पन्न भएको देखिन्छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मे २८, २०२५ मा नयाँ भिसा नीति घोषणा गरेका थिए। उक्त नीतिमा लेखिएको छ, “विदेशी अधिकारीहरूले अमेरिकी भूमिमा रहँदा अमेरिकी प्लेटफर्ममा गरिएको सामाजिक सञ्जाल पोष्टका लागि अमेरिकी नागरिक वा बसोबास गर्नेहरूमा पक्राउ वारन्ट जारी गर्नु वा धम्की दिनु स्वीकार्य छैन। त्यस्तै, विदेशी अधिकारीहरूले अमेरिकी प्रविधि कम्पनीहरूलाई विश्वव्यापी सामग्री moderation नीति अपनाउन वा आफ्नो अधिकारभन्दा बाहिर अमेरिकी क्षेत्रमा पहुँच हुने सेन्सरशिप गतिविधिमा संलग्न गराउन दबाब दिनु पनि स्वीकार्य छैन।”
तर नेपालभित्र मात्र फेसबुक वा अन्य सामाजिक सञ्जाल बन्द गर्ने सम्भावित कदमलाई यस नीतिसँग जोड्ने आधार नै पाइएको छैन। त्यसैले, नेपालले फेसबुकलाई आफ्नो नीति अनुसार नियन्त्रण गरे पनि, यसले स्वतः नेपाली उच्च पदस्थहरूको अमेरिकी भिसा अस्वीकृत हुने स्थिति सिर्जना नगर्ने देखिन्छ।
“फेसबुक ब्याण्ड भए अमेरिकाले ओलीलाई भिसा नदिने अरे” भन्ने खबर फैलाए पनि, यो अमेरिकी नीतिको वास्तविक आशयसँग मेल खाएको पाइन्न। साधारण प्रयोगकर्ताले भने “फेसबुक बन्द भयो = अमेरिकी भिसा रोकियो” भन्ने सरलीकृत तर असत्य निष्कर्ष निकालेका छन्।
नेपालभित्र फेसबुक प्रतिबन्ध भए पनि यसले प्रधानमन्त्री ओली, अन्य अधिकारी, वा एकमुस्ट नेपालीहरुलाई स्वतः अमेरिकी भिसा अस्वीकृत हुने खबर भ्रामक भएको बुझ्न सकिन्छ।