काठमाडौं । गुगलले हालै सुरू गरेको “AI Overview” प्रणालीले वेबसाइटहरूको ट्राफिक घटाएको भन्ने आरोपलाई अस्वीकार गरेको छ। कम्पनीका अनुसार यो प्रणालीले प्रयोगकर्तालाई सजिलो जानकारी दिन मात्र सहयोग गर्छ, र धेरैजसो केसमा प्रकाशकहरूले अझ बढी ट्राफिक पाएको देखिएको छ।
AI Overview प्रणाली सर्च नतिजामा प्रत्यक्ष उत्तर दिने शैलीमा डिजाइन गरिएको हो, जसले प्रयोगकर्तालाई कुनै लिङ्कमा क्लिक नगरी नै संक्षिप्त जानकारी प्रदान गर्छ। यसरी सिधा उत्तर दिदा मुख्य आम्दानी स्रोत नै वेबसाइट ट्राफिक र विज्ञापन रहेका प्रकाशकहरुको आयमा गम्भिर असर पुगेको दाबीहरु पछिल्लो समय व्यापक बन्दै गएको देख्न सकिन्छ ।
तर गुगलले भने यस किसिमका दाबीहरुलाई खण्डन गर्दै AI Overview ले ट्राफिकमा नकारात्मक असर पार्नुभन्दा उल्टो, कतिपय सामग्रीमा ट्राफिक अझ बढेको जनाएको छ । “हामीले धेरै प्रकारका सिग्नल प्रयोग गरेर यस्ता नतिजा देखाउँछौं, जसले प्रयोगकर्तालाई सन्तुष्ट बनाउने मात्र नभई प्रकाशकलाई उचित सन्दर्भ पनि दिन्छ।” गुगलका प्रवक्ताले टेकक्रन्च नामका संचार माध्यमलाई बताएका छन्, ।
गुगलको दाबी अनुसार, AI Overview को सुरुआती परीक्षणको आधारमा ट्राफिकमा औसत कमी देखिएको छैन। कम्पनीले यी प्रणालीलाई अझ सन्तुलित बनाउँदै लैजाने र आवश्यक परे सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
तर धेरै प्रकाशकहरू र स्वतन्त्र पत्रकारहरूले यो दाबीलाई चुनौती दिइरहेका छन्। उनीहरूका अनुसार प्रयोगकर्ताले जब सिधा उत्तर पाउँछन्, तब लिङ्क क्लिक हुने सम्भावना कम हुन्छ, जसको प्रत्यक्ष असर विज्ञापन आम्दानीमा पर्छ।
नेपालजस्ता साना डिजिटल बजारमा यसको दीर्घकालीन असर अझ गम्भीर हुनसक्छ। अहिले गुगलले नेपाली भाषामा AI Overview सुरू गरेको छैन, तर जब यस्तो सेवा ल्याइन्छ, तब यहाँका अनलाइन मिडिया र ब्लगरहरूले पनि ट्राफिक घट्न थालेको महसुस गर्न सक्छन्।