काठमाडौं। अमेरिकाको NASA र भारतीय अन्तरिक्ष संस्था ISRO द्वारा संयुक्त रुपमा निर्माण गरिएको पृथ्वी अवलोकन उपग्रह ‘निसार’ लाई गत बुधबार श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ। यो उपग्रह हालसम्मकै सबैभन्दा महँगो र शक्तिशाली अर्थ अब्जर्वेशन स्याटेलाइट मानिएको छ, जसमा करिब १.५ अर्ब अमेरिकी डलर अर्थात् २ खर्ब नेपाली रुपैयाँ बराबर खर्च गरिएको छ।
GSLV-F16 रकेटमार्फत साँझ ५:५५ बजे प्रक्षेपण गरिएको निसार उपग्रहलाई ७४७ किलोमिटर उचाइमा सूर्यसँग तालमेल भएको सन-सिंक्रोनस पोलर कक्षमा राखिएको छ। यो कक्ष अन्तरिक्षबाट पृथ्वीको ध्रुवीय क्षेत्र पार गर्दै सतहको विस्तृत अध्ययन गर्न सक्षम छ।
निसार स्याटेलाइट के हो?
निसारको पूर्ण नाम ‘नासा-इसरो सिन्थेटिक एपर्चर रडार’ (NASA-ISRO Synthetic Aperture Radar) हो। यो उपग्रह पृथ्वीको एक चक्कर लगाउन ९७ मिनेट लिने, र १२ दिनमा १,१७३ पटक परिक्रमा गर्ने बताइएको छ। यो उपग्रहमा दुई किसिमका अत्याधुनिक रडार प्रणाली जडान गरिएको छ — NASA को L-ब्यान्ड र ISRO को S-ब्यान्ड — जसले वर्षा, बादल, अन्धकार र घना वनभित्र समेत स्पष्ट दृश्य दिन सक्षम छ। यसले पृथ्वीको सतहमा सेन्टीमिटर स्तरका साना-ठूला परिवर्तन समेत नाप्न सक्छ।
निसार मिशनका उद्देश्यहरू के छन्?
निसारको प्रमुख उद्देश्य पृथ्वीको वातावरण र भू-परिवर्तनहरूलाई वैज्ञानिक रूपमा बुझ्नु हो। यसले विशेषगरी निम्न तीन पक्षहरूमा निगरानी राख्नेछ:
जमिन र हिउँको परिवर्तन: जमिनको धँसाइ वा हिउँको पग्लाइ जस्ता परिवर्तनहरू ट्र्याक गर्ने।
स्थलीय पारिस्थितिकी तन्त्र: वन, कृषि भूमि र अन्य प्राकृतिक क्षेत्रहरूको अवस्थाको विश्लेषण।
- सामुद्रिक क्षेत्र: समुद्री लहर, तटवर्ती अवस्था र समुद्री वातावरणको अवलोकन।
यसले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र पारिस्थितिक तंत्रका विषयमा वैज्ञानिक अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। मिशनको अवधि पाँच वर्ष रहनेछ र यसका सबै सङ्कलित तथ्यांक सार्वजनिक रुपमा निःशुल्क उपलब्ध गराइने बताइएको छ।
निसार परम्परागत उपग्रहभन्दा कसरी फरक छ?
परम्परागत उपग्रहहरूले तीव्र गतिमा भइरहेका पृथ्वीका परिवर्तनहरूलाई स्पष्ट रूपमा टिप्न सक्दैनन्। निसारले यो कमी पूरा गर्नेछ। यसले सबै मौसममा उच्च गुणस्तरका तस्बिरहरू लिन सक्छ, र पृथ्वीको गतिविधिहरूलाई झण्डै वास्तविक समयमा देखाउन सक्छ।
मिशनका प्रमुख चरणहरू
मिशनका चार प्रमुख चरणहरूमा प्रक्षेपण, उपकरण स्थापना, प्रणाली परीक्षण र वैज्ञानिक अनुगमन समावेश छन्। प्रक्षेपणपछिको ९० दिन सिस्टम परीक्षण (In-Orbit Checkout) को लागि छुट्याइनेछ। यसमा सबै पेलोड र उपकरणहरूको कार्यक्षमता परीक्षण गरिनेछ। त्यसपछि नियमित वैज्ञानिक कार्यहरू – पृथ्वीको अवलोकन, तस्बिर सङ्कलन, सतही परिवर्तन ट्र्याक आदि सुरु गरिनेछ।
यस प्रगतिशील उपग्रहले अन्तर्राष्ट्रिय अन्तरिक्ष अन्वेषणमा भारत र अमेरिकाको सहकार्यलाई थप मजबुत बनाएको छ भने जलवायु तथा पर्यावरण संरक्षणका क्षेत्रमा नयाँ युगको आरम्भ गरेको छ।