काठमाडौं। Meta अन्तर्गतको सामाजिक सञ्जाल प्लेटफर्म Instagram ले हालै सार्वजनिक गरेको नयाँ ‘Instagram Map’ ले प्रयोगकर्ताबीचको सामाजिक व्यवहारमा नयाँ मोड ल्याउने संकेत दिएको छ। Snap Map सँग मिल्दोजुल्दो देखिने यो फीचरले अब प्रयोगकर्ताहरूलाई साथीहरूको लोकेसन, रुचिका ठाउँहरू र ट्रेन्डिङ इभेन्ट्स एकै नक्सामा देखाउने सुविधा दिन्छ।
Instagram Map ले प्रयोगकर्ताको लोकेसन डेटा प्रयोग गरेर उनीहरू हाल कहाँ के गर्दै छन् भन्ने जानकारी दिन्छ। प्रयोगकर्ताले चाहेमा आफ्ना स्टोरीहरू, पोष्टहरू र चेक-इन हरू नक्सामा देखिने गरी साझा गर्न सक्छन्। साथै, नजिकै रहेका साथीहरूको गतिविधि हेरेर तिनीहरूसँग भेट गर्न र रेस्टुरेन्टहरूको रेकमेन्डेसन पाउन सकिन्छ।
सामाजिक सञ्जालमा साथीहरूको जीवनशैली हेर्ने चलनमा अब ‘location-based interaction’ पनि थपिने देखिन्छ। प्रयोगकर्ताहरूले फोटो मात्र हेर्ने नभई, ती अनुभवहरू कहाँ भएका थिए भन्ने कुरा पनि नक्सामा सजिलै बुझ्न सक्नेछन्।
कन्सर्ट, प्रदर्शनी, क्याफे वा नयाँ ट्रेन्डिङ स्थानहरूको जानकारी Map फीचरबाट सोझै उपलब्ध हुनेछ। यसले लोकेसन ट्यागमार्फत बढी visibility पाउन मदत गर्छ जसले गर्दा स्थानीय व्यवसायहरूलाई समेत फाइदा पुर्याउने सम्भावना रहेको छ।
यद्यपि, यसका केही चुनौतीहरू पनि छन्। स्थान साझा गर्दा प्रयोगकर्ताहरूको गोपनीयता कत्तिको सुरक्षित रहन्छ भन्ने प्रश्न उठ्न थालेको छ। Meta ले भनेअनुसार, लोकेसन साझा गर्न प्रयोगकर्ताको पूर्ण स्वीकृति आवश्यक हुनेछ र निजी लोकेसनहरू नक्सामा देखिने छैनन्। तर विगतमा Meta का गोपनीयता सम्बन्धी आलोचनाहरूलाई ध्यान दिँदा, यसबारे प्रयोगकर्ताले सतर्कता अपनाउन जरुरी देखिन्छ।
Instagram Map को परीक्षण हाल अमेरिका, बेलायत, जापान र केही युरोपेली देशहरूमा भइरहेको छ। नेपालमा यो फीचर कहिले आउँछ भन्ने बारे जानकारी अझै खुलाएको छैन, तर Meta का अन्य अपडेटहरू झैं छिटै उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ।