काठमाडौं — चर्चित व्यावसायिक घराना खेतान समूहले डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेमा २० प्रतिशत स्वामित्व खरिद गरेर उक्त फिनटेक क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको छ।
गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियामा रहेको आफ्नो शेयर बिक्री गरेर नगद सुदृढ अवस्थामा पुगेका व्यवसायी राजेन्द्र खेतानले अब अब फिनटेक क्षेत्रमा लगानी गर्न लागेका हुन्।
स्रोतका अनुसार करिब तीन महिनाअघि नै फोनपेको मातृ कम्पनी एफवान सफ्ट ग्रुप र खेतान समूहबीच प्रारम्भिक लगानीसम्बन्धी समझदारी भइसकेको छ। उक्त सम्झौताको जानकारी फोनपेले नियामक निकाय नेपाल राष्ट्र बैंकलाई औपचारिक रूपमा गराइसकेको छ। अब राष्ट्र बैंकको स्वीकृति प्राप्त भएलगत्तै स्वामित्व खरिद प्रक्रिया अघि बढ्नेछ।
ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक मनिष थापाका अनुसार खेतान समूहले उक्त फन्डमार्फत फोनपेमा रणनीतिक लगानी गर्ने योजना बनाएको हो। उनले लिङ्क्डइनमार्फत भनेका छन्, “हामीले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड र नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड–१ को प्रयोग गरेर फोनपेमा लगानी गर्न लागेका हौं। यसले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप व्यापक र प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास गरेका छौ।”
फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडले २०७६ माघ २६ गते नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक (पीएसओ) को लाइसेन्स प्राप्त गरेको थियो। कम्पनीको हालको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ रहेको छ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्ष २०७९/८० मा कम्पनीले १ करोड ९६ लाख रुपैयाँ मुनाफा कमाएको थियो।
खेतान समूहको लगानी क्षेत्रहरूमा गोर्खा ब्रुअरी, हिमालयन स्न्याक्स एन्ड नुडल्स, लक्ष्मी सनराइज बैंक, एभरेस्ट इन्स्योरेन्सलगायतका वित्तीय तथा औद्योगिक कम्पनीहरू रहेका छन्।
यसैबीच, फोनपेको सेवा नेपालमै सीमित नरहेर अन्तरदेशीय भुक्तानीसम्म फैलिएको छ। कम्पनीले भारतको युनाइटेड पेमेन्ट इन्टरफेस (UPI) सँगको सहकार्यमा अन्तरदेशीय क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरु गरिसकेको छ। साथै, श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापे र दक्षिण कोरियाको जीएलएन इन्टरनेसनलसँग पनि यस्तै सेवा विस्तारका लागि सम्झौता गरिसकेको छ।