काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूलाई जोडेर सार्वजनिक गरिएको घुस लेनदेनसम्बन्धी अडियोलाई अस्वीकार गरेका छन् । उनले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउँदै अडियो नक्कली भएको दाबी गरेका छन् ।
७८ लाख रुपैयाँ घुसको लेनदेनमा आफ्नो संलग्नता भएको अडियो सार्वजनिक भएपछि पहिलोपटक मन्त्री गुप्ताले टेलिभिजन अन्तर्वार्तामार्फत खुलेर प्रतिक्रिया दिएका हुन् । उनले उक्त अडियो आफूले बोलेको नभएको स्पष्ट पारे। “म त्यो अडियो मेरो हो भन्ने प्रमाण दिनुस्, म तुरुन्तै राजीनामा दिन्छु । प्रमाणित भयो भने नागरिकता त्यागेर देशै छाड्छु,” गुप्ताले भने ।
उनले प्रविधिको गलत प्रयोग गरेर यस्ता अडियो सिर्जना गर्न सकिने सम्भावना औंल्याउँदै यसअघि पनि यस्ता प्रवृत्ति देखिएको उदाहरण दिए । राष्ट्रपति र एक मेयरबीचको अडियो प्रकरण उल्लेख गर्दै गुप्ताले प्रविधिमा आधारित प्रमाणमाथि गहिरो छानबिन आवश्यक रहेको बताए ।
गुप्ताले आफूमाथि लागेको आरोप पूर्वनियोजित षड्यन्त्र भएको र यसले सरकारलाई बदनाम गराउने प्रयत्न गरिएको टिप्पणी गरेका छन् । “यस्तो षड्यन्त्र सरकार, म र मेरो पार्टीविरुद्ध हो,” उनले बताए ।
मन्त्री गुप्ताले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै आफूविरुद्ध आएका समाचारहरू योजनाबद्ध रुपमा प्रकाशित भएको र यसले आफ्नो व्यक्तिगत तथा राजनीतिक छविमा गम्भीर क्षति पुर्याएको उल्लेख गरेका छन् । उनले एआई प्रविधिको दुरुपयोग गर्दै आफ्नो स्वर जस्तो बनाइएको अडियो सार्वजनिक गरेर फसाउने प्रयास भएको दाबी गरे ।
गुप्तामाथि मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्ति मिलाइदिन २५ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । सार्वजनिक अडियोमा उनलाई बिचौलियासँग रकमको विषयमा कुराकानी गरिरहेको सुनिन्छ। यद्यपि मन्त्री गुप्ताले त्यसलाई नक्कली अडियो भन्दै शुरुदेखि नै अस्वीकार गर्दै आएका छन् ।
उनले आफू निर्दोष रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) को छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो प्रकरणले राजनीतिमा हलचल ल्याएको छ। प्रतिनिधिसभाको हालैको बैठकमा सांसदहरूले अडियो प्रकरणबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन् । सत्तारूढ दलकै केही नेताहरूले समेत प्रधानमन्त्री र पार्टी नेतृत्वले विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।