काठमाडौँ। लोकप्रिय शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ डाइरेक्ट मेसेज (DM) सुविधाहरू सार्वजनिक गरेको छ।
अन्तरास्ट्रिय मिडियाका अनुसार, अब प्रयोगकर्ताहरूले भ्वाइस नोट र ९ ओटासम्म फोटो वा भिडियो पठाउन सक्नेछन्। साथै, भ्वाइस नोटमार्फत, प्रयोगकर्ताहरूले ६० सेकेन्डसम्मको अडियो सन्देश रेकर्ड गरेर पठाउन सक्नेछन्। यो सुविधा वान-टु-वान र समूह च्याट दुबैमा उपलब्ध हुनेछ। यो सुविधा आगामी केही हप्ताभित्र सबै प्रयोगकर्तासम्म विस्तार गरिने बताइएको छ।
फोटो र भिडियो पठाउँदा प्रयोगकर्ताले क्यामेराबाट खिचेको वा ग्यालरीमा रहेको सामग्री चयन गर्न सक्ने छन्। साथै, फोटो र भिडियो पठाउनु आगाडी प्रयोगकर्ताले इडिट पनि गर्न सक्ने छन्।
प्रयोगकर्ताको सुरक्षाका लागि, आफ्नो पहिलो सन्देशको अनुरोधमा फोटो वा भिडियो पठाउन नमिल्ने बताइएको छ। उदाहरणका लागि, यदि कसैले तपाईंलाई पहिलोपटक टिकटकमा मेसेज पठाउँछ भने, उनीहरूले आफ्नै खिचेको फोटो वा भिडियो पठाउन नमिल्ने र टिकटकमा पहिले नै उपलब्ध सामग्री मात्र पठाउन मिल्ने बताइएको छ। साथै, फोटो वा भिडियो पठाउन छनौट गर्दा, टिकटकले उक्त प्रयोगकर्तालाई गोपनीयता सुरक्षित राख्न र उक्त सामग्री कसलाई पठाइरहेको छन् भन्ने कुरामा सचेत हुन रिमाइनड गर्ने बताइएको छ।
सुरक्षाका लागि, १६ वर्षमुनिका प्रयोगकर्ताहरूका लागि DM सुविधा उपलब्ध गराइएको छैन। १६ देखि १८ वर्षसम्मका प्रयोगकर्ताका लागि भने नग्नता भएको आशंका गरिएको फोटो वा भिडियो स्वतः ब्लक हुने व्यवस्था गरेको बताइएको छ। १८ वर्ष माथिका प्रयोगकर्ताले पनि यो सुरक्षा सुविधा आफ्नो सेटिङमा सक्रिय गर्न सक्ने बताइएको छ।
यस सुविधाले टिकटक प्रयोगकर्ताहरूलाई सुरक्षित र सहज तरिकाले संवाद गर्न नयाँ माध्यम प्रदान गर्ने अपेक्षा गरिएको छ।