काठमाडौँ । भारत सरकारले २५ वटा ओटीटी प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएको छ । रिपोर्टका अनुसार अश्लील तथा अशिष्ट सामग्री प्रवर्द्धन गरेको भन्दै उक्त २५ वटा ओटीटी प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाइएको हो । सूचना तथा प्रसारण मन्त्रालयले उल्लु (Ullu), एएलटीबालाजी (ALTBalaji), बिग सट्स, देशीफ्लिक्स, बुमेक्स, नवरासा लाइट, गुलाब एप लगायतका प्लेटफर्महरूलाई भारतभित्र पहुँच नहुने गरी प्रतिबन्धित गरेको हो ।
मन्त्रालयले मोबाइल सेवा प्रदायक र इन्टरनेट कम्पनीहरूलाई यी प्लेटफर्ममा तत्काल पहुँच रोक्न पत्राचार गरेको छ । समाजमा नकारात्मक प्रभाव पार्ने अश्लील, अशिष्ट र वयस्क सामग्री (एडल्ट कन्टेन्ट) प्रसारण गरेको ठहरमा यस्ता प्लेटफर्महरूमाथि प्रतिबन्धको गरिएको बताइएको छ ।
यो कदम भारत सरकारले डिजिटल प्लेटफर्महरूको नियमन गर्ने प्रयासअन्तर्गत चालेको हो । सूचना प्रविधि नियम उल्लङ्घन गर्ने र आपत्तिजनक सामग्री प्रसारण गर्ने कुनै पनि माध्यमविरुद्ध कडा कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
गत अप्रिलमा भारतको सर्वोच्च अदालतले ओभर-द-टप (ओटीटी) प्लेटफर्म तथा सामाजिक सञ्जालहरूमा बढ्दो यौनजन्य सामग्रीको नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको थियो । सो क्रममा नेटफ्लिक्स, अमेजन प्राइम, उल्लु, एएलटीबालाजी, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका प्रमुख प्लेटफर्महरूलाई सचेत समेत गराइएको थियो ।
यस निर्देशनको कार्यान्वयनका रूपमा भारत सरकारले अश्लील सामग्री फैलाउने प्लेटफर्महरूमा निगरानी बढाउँदै प्रतिबन्धात्मक कदम अघि बढाएको विश्लेषण गरिएको छ ।
प्रतिबन्धित मोबाइल एप र वेबसाइटहरू:
- ALTT
- ULLU
- Big Shots App
- Desiflix
- Navarasa Lite
- Hitprime
- Sol Talkies
- Wow Entertainment
- Kangan App
- Gulab App
- Boomex
- Look Entertainment
- ShowX
- HotX VIP
- MoodX
- NeonX VIP
- Triflicks
- Mojflix
- Feneo
- Jalva App
- Bull App
- Adda TV
- Hulchul App
- Fugi
- ShowHit