काठमाडौं । प्लेस्टेशन ५ सार्वजनिक भएको करिब पाँच वर्षपछि सोनीको new generation गेमिङ कन्सोल प्लेस्टेशन ६ सम्बन्धी चर्चा सुरु भएका छन्। युट्युब च्यानल Moore’s Law is Dead मार्फत सार्वजनिक गरिएको एक भिडियोमा, सोनीको आगामी कन्सोलबारे विभिन्न प्राविधिक विवरण, सम्भावित मूल्य र सार्वजनिक मिति बताइएको छ। यद्यपि यी विवरणहरू २०२३ मा सोनीलाई दिइएको AMD को लीक प्रेजेन्टेसनमा आधारित रहेको बताइएको छ। र अहिले यी स्पेसिफिकेसनहरूमा केही परिवर्तन आएको हुन सक्ने भिडियोकै डिस्क्लेमरमार्फत् बताइएको छ।
सोनीले औपचारिक रूपमा केही घोषणा नगरे पनि, लीक भएको विवरणअनुसार कम्पनीले नयाँ कन्सोलमा कम पावर खपत र अघिल्ला पुस्ताको तुलनामा लागत नियन्त्रणमा राख्न प्राथमिकता दिइरहेको देखिन्छ। भिडियोमा उल्लेख गरिएको छ कि प्लेस्टेशन ६ ले प्लेस्टेशन ५ को तुलनामा ३ गुणा उच्च 3D rasterization प्रदर्शन दिनेछ, र PS5 Pro को तुलनामा झन्डै २ गुणा।
कन्सोलको सम्भावित मूल्य $४९९ राखिने बताइएको छ, जुन PS4 को सफलताबाट प्रेरित भएको संकेत दिन्छ। PS6 मा PS4 र PS5 दुवैको backward compatibility (अघिल्ला पुस्ताका गेम खेल्न सकिने) हुने चर्चा पनि छ।
यसका साथै, सोनीले PS6 सँगै एक नयाँ ह्याण्डहेल्ड डिभाइसमा पनि काम गरिरहेको उल्लेख गरिएको छ। उक्त ह्याण्डहेल्डमा microSD स्लट, M.2 SSD स्लट, टचस्क्रिन, ह्याप्टिक भाइब्रेसन, डुअल माइक तथा USB-C पोर्ट जस्ता फिचरहरू हुने बताइएको छ, जसले भिडियो आउटपुट दिने क्षमता पनि राख्नेछ। यस डिभाइसको मूल्य $४०० देखि $५०० को बीचमा हुन सक्ने सम्भावना उल्लेख गरिएको छ।
लीकरका अनुसार, सोनीले PS6 र PS6 ह्याण्डहेल्डको उत्पादन सन् २०२७ को मध्यतिर सुरु गर्नेछ, भने बजारमा सार्वजनिक गर्ने समय सन् २०२७ को अन्त्यदेखि २०२८ को सुरुवातसम्मको बीचमा पर्न सक्छ।