काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेको छ। आयोगकी आयुक्त लिली थापासहितको टोलीले आज सोमबार उक्त कारागारको अवस्था बुझेका थिए। अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।
अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै आयुक्त थापाले कारागार क्षमताभन्दा बढी कैदी रहेको पाइएको उल्लेख गरिन्। २५० जना कैदी राख्न मिल्ने कारागारमा हाल ७०० जनाभन्दा बढी कैदी रहेका छन्, जुन न्यूनतम मानवअधिकारको उल्लंघन भएको आयोगले बताएको छ। उनले सरकारको कमजोरीकै कारण कैदी व्यवस्थापनमा समस्या आएको बताइन्।
अनुगमनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसँग पनि संवाद गरिएको थियो। आयुक्त थापाका अनुसार लामिछानेले हिडडुल गर्न नपाएको, बाहिर निस्केर स्वच्छ हावा लिन नपाएको, पत्रपत्रिका पढ्न र समाचार सुन्न नपाएको गुनासो गरेका छन्। साथै, कानुनी सहायता लिन र आफ्ना कार्यकर्तासँग भेटघाट गर्न समेत रोकिएको उनले सुनाइन्।
रवी लामिछानेलाई राखिएको कोठामा एसी छैन, तर दुई वटा पंखा राखिएको छ। उक्त कोठा ४२० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ र त्यहाँ अट्याच शौचालय भए पनि पूर्ण रूपमा गारोले ढाकिएको छैन। ‘एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ । झ्यालहरू चाहिँ खोलिएको छैन । नजिकै घरहरू भएको र सर्पदंशको डर भएकाले झ्यालहरू बन्द गरिएको प्रशासनले बताएको छ । तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न भन्यौ । उहाँहरूले स्वीकार्नुभएको छ,’ उनले भनिन् । साथै सूचना हकका लागि एउटै रेडियो मात्र राखिएको INSEC की प्रतिनिधि रिमा बीसीले बताएकी छिन्।
अनुगमनपछि आयोगले कारागारभित्र आधारभूत सुविधा अभाव रहेको निष्कर्ष निकालेको छ।