काठमाडौं । सामाजिक संजाल फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका टिकटकर रिनेशकि प्रेमिका प्रहरी नियन्त्रणमा रहेको खुलासा भएको छ । केहि दिन अगाडि रिनेशले सामाजिक संजालमा सुसाइड नोट लेखे लगत्तै झुण्डिएर आत्महत्या गरेका थिए।
रिनेशले आफ्नो सुसाइड नोटमा प्रेमिकाले आत्महत्या गर्न बाध्य बनाएको बताएका छन्। उनले तीनवटा तस्बिरहरु हाल्दै लेखेका थिए, ‘बाउआमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया ।’
यस विषयमा गरिएको अनुसन्धानका क्रममा प्रहरीले प्रेमिकालाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरी हिरासतमा राखेको छ। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले एक संचार माध्यमलाई जानकारी गराएका छन् ।
प्रहरीसँग दिएको बयानमा युवतीले आफू स्वयम् पीडित भएको बताएकी छन्। आफूलाई जतिबेला पनि मरिदिन्छु भनेर घुर्की लगाउने गरेको उनको दाबी रहेको छ ।।
युवतीका अनुसार, आत्महत्या गर्नु अघिको रात उनीहरू सँगै थिए। राति करिब ९-१० बजेसम्म आफ्नै कोठामा बसेको समयमा कुटपिटसमेत गरेर फर्केको उनले बताइन्।
‘मलाई पिटेर जानुभयो, भोलिपल्ट एक्सक्युज गर्नुहोला भनेको केही पनि गर्नुभएन, उल्टै यस्तो भयो,’ उनले बयान दिँदै प्रहरीसँग भनेकी छन्।
रिनेश बुबाआमाका एक्ला छोरा थिए। २७ वर्षका उनी ललितपुरको चापागाउँ घर भएका हुन् र हाल काठमाडौं, ढोलाहिटीमा मोबाइल पसल सञ्चालन गर्दै आएका थिए। टिकटकमा उनको करिब ६६ हजार फलोअर्स रहेका छन् भने प्रेमिकासँगका दर्जनौँ भिडियोहरू टिकटकमा भेट्न सकिन्छ।