काठमाडौँ। नेपाली चलचित्र “बलिदान” अमेरिकाका २०० भन्दा बढी हलहरूमा १००० भन्दा बढी शो सहित प्रदर्शनमा आउँने भन्दै निर्देशक सन्तोष सेनले भ्रामक तस्बिर साझा गरेका छन्।
गत सोमबार, आफ्नो फेसबुक पोस्टमार्फत सेनले भ्रामक तस्बिर सार्वजनिक गरेका हुन्। उक्त पोस्टमा उनले लेखेका छन्, ” दशै फुलपाती September 29 देखी “बलिदान” संयुक्त राज्य अमेरिकाका २०० भन्दा बढी हलहरूमा १००० भन्दा बढी शो सहित प्रदर्शनमा आउँने भएको छ..। यो ऐतिहासिक क्षणलाई अझ महत्वपूर्ण बनाउने कुरा के हो भने, AMC अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेनमा पहिलो पटक नेपाली चलचित्र बलिदान प्रदर्शन हुदैछ….। त्यो संगै, CINEMARK, MARCUS, REGAL जस्ता अन्य प्रतिष्ठित सिनेमा चेनहरूमा समेत “बलिदान” एकसाथ प्रदर्शन हुँदैछ, जसले नेपाली चलचित्र प्रेमी अमेरिकी दर्शकहरूको बीचमा अझ व्यापक बनाउनेछ….”
यस पोस्टमा उनले केहि तस्बिर समेत साझा गरेका छन्, जुन फेक रहेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भैरहेको छ। उक्त तस्बिरहरुमा ‘बलिदान’ चलचित्रको डिजिटल पोस्टर राखिएको छ, जसमा ‘Coming soon’ र ‘Now showing’ दुबै लेखिएको छ। एउटै चलचित्र, एकैसमयमा, ‘आउदै गरेको’ र ‘प्रदर्शन भैरहेको’ हुन सम्भव नै छैन। त्यसमा पनि, रिलिज नै हुन बाँकि रहेको चलचित्रको ‘Now showing’ स्टेटस हुनु, फेक तस्बिर भएको कुरामा कसैको २ मत छैन। सेनले आफ्नो पोस्टमा बताएका कुनै पनि सिनेमाको साइटमा पनि ‘बलिदान’ चलचित्रको पोस्टर ‘Coming soon’ मा देख्न पाइएको छैन।
यति मात्र नभएर ‘बलिदान’ को पोस्टरको छेउछाउमा रहेका अन्य चलचित्रका पोस्टरहरू पनि संकास्पत रहेको पाइएको छ। छेउछाउमा रहेका यी अन्य चलचित्रहरु ७-८ वर्ष पहिले रिलिज भएको हुन्। प्रायः हलहरूमा आउन लागेको वा प्रदर्शनरत चलचित्रका डिजिटल पोस्टरहरू टाँसिएका हुन्छन् । तर सेनले सार्वजनिक गरेका तस्वीरमा भने ‘बलिदान’ को पोस्टरसँगै, ७-८ वर्ष पहिले रिलिज भएका चलचित्रको पास्टर हुँदा, उक्त तस्बिर फेक रहेको आसंखा अझ बढाएको छ।
यदि साँच्चिकै बलिदान चलचित्र अमेरिकामा प्रदर्शन हुने निश्चित भएको हो भने त्यो नेपाली चलचित्र इन्डस्ट्री र अमेरिकामा बसोबास गर्ने नेपालीका लागि खुसीको कुरा हुन्छ । तर, यसरी फेक (सम्पादित / एडिटेड ) तस्बिर पोस्ट गर्दा शंका उत्पन्न भएको छ।