काठमाडौं। पछिल्ला वर्षहरूमा स्मार्टवाच र फिटनेस ट्रयाकरहरू स्वास्थ्य निगरानीका व्यक्तिगत सहायकका रूपमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। हृदयगति देखाउनेदेखि सुताइको गुणस्तर मूल्याङ्कन गर्ने र तनाव मापनसम्मका सुविधा दिने यी उपकरणहरूलाई कम्पनीहरूले “स्वास्थ्य सचेत जीवनशैलीको अनिवार्य साथी” भनेर बजारमा प्रस्तुत गर्दै आएका छन्। तर, हालै American Psychological Association ले प्रकाशित गरेको नयाँ अध्ययनले यस्ता दाबीहरूमा शंका उत्पन्न हुने तथ्य प्रस्तुत गरेको छ।
अमेरिकी अनुसन्धानकर्ताहरूले विभिन्न लोकप्रिय स्मार्टवाच र फिटनेस ब्यान्डहरूको तनाव मापन क्षमताको परीक्षण गर्दा पत्ता लगाए अनुसार, यस्ता उपकरणहरूले दिने तनाव मापनको स्कोरहरू प्रायः विश्वसनीय छैनन्। विशेषगरी, तनाव मापनका लागि प्रयोग गरिने प्रमुख प्रविधि- मुटुको धड्कन गति (हार्ट बिट ) , बाह्य कारकहरूले सजिलै प्रभावित हुने देखियो। तापक्रम, शारीरिक गतिविधि, कफीको सेवन, यहाँसम्म कि घडीको फिट पनि परिणाममा फरक पार्ने कारक बने।
यस कारण, बजारमा कम्पनीहरूले “तपाईंको तनाव स्तरलाई रियल टाइममा ट्रयाक” गर्ने दाबी वैज्ञानिक परीक्षणमा कमजोर देखिएका छन्। अध्ययनका अनुसार, यस्ता उपकरणहरू स्वास्थ्य निगरानीका लागि सहायक मात्र हुन सक्छन्, तर चिकित्सकीय निर्णयका लागि प्रयोग गर्नु उपयुक्त हुँदैन।
नेपालमा समेत स्मार्टवाच र फिटनेस ब्यान्डको बजार तीव्र गतिमा विस्तार भइरहेको छ। विशेषगरी, शहरी युवापुस्तादेखि मध्यम उमेरका स्वास्थ्य सचेत ग्राहकहरूबीच यसको लोकप्रियता बढ्दै गएको छ। तर नेपालमा स्वास्थ्य उपकरण जाँच र अनुमोदनका स्पष्ट नियम नहुँदा, कम्पनीहरूले प्रायः विदेशी विज्ञापन नै आधार मानेर सोझै प्रयोग गर्छन्। यसले ग्राहकलाई उपकरणको आफ्नो क्षमता भन्दा पनि अझै बढी गर्न सक्छ भन्ने गलत बुझाइ दिन सक्छ।
विशेषज्ञहरूको सुझाव छ, यदि तपाईं तनाव व्यवस्थापन गर्न चाहनुहुन्छ भने, स्मार्टवाचको डाटालाई प्राइमरी इन्डिकेटरको रूपमा मात्र प्रयोग गर्नुपर्छ। तनावको सही मूल्याङ्कनका लागि सर्टिफाइड चिकित्सकसँगको परामर्श, मनोवैज्ञानिक मूल्याङ्कन, तथा जीवनशैली सुधारका विधिहरू अपनाउनु जरुरी हुन्छ। यससँगै, स्वास्थ्य सम्बन्धी उपकरणको विज्ञापन गर्दा नियामक निकायले ‘वास्तविक क्षमता र बजार दाबीबीचको सन्तुलन’ कायम गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।
भविष्यमा, प्रविधि कम्पनीहरूले सेन्सरको संवेदनशीलता बढाउने, एल्गोरिदम सुधार गर्ने, र विभिन्न शारीरिक सूचकहरूलाई एकीकृत गरेर accurate तनाव मापन गर्ने दिशामा अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ। तर, यस्तो विकास हुन अझ केही समय लाग्ने देखिन्छ।
त्यसैले, हालको अवस्थामा स्मार्टवाचलाई स्वास्थ्य निगरानीको ‘Primary Indicator’ मात्र मान्नु उपयुक्त हुन्छ ।, जसले तपाईंलाई संकेत त दिन सक्छ, तर चिकित्सकीय निर्णयका लागि प्रयोग गर्न त्यति उत्तम मानिदैन।