काठमाडौँ। Elon Musk को SpaceX कम्पनीले आफ्नो Starship रकेटको दसौं परीक्षण उडान स्थगित गरेको छ। अगस्ट २४, २०२५ मा टेक्ससको स्टारबेस लन्च साइटबाट गर्ने भनिएको यस उडानमा प्रणालीगत त्रुटि देखिएको कारण स्थगित गरिएको हो।
यो परीक्षण उडान, टेक्सास समयअनुसार २४ अगस्ट साँझ ६:३० बजे (CDT) तय गरिएको थियो। तर, निर्धारित समयभन्दा करिब ३० मिनेटअघि ग्राउन्ड सिस्टममा आएको समस्याका कारण लन्च स्थगित गरिएको बताइएको छ।
यस परीक्षण उडानलाई NASA को Artemis III मिशनका लागि महत्वपूर्ण मानिएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार, NASA ले Starship रकेटको प्रयोग गर्दै २०२७ मा मानिसलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।
Starship एक सामान्य रकेट मात्र नभएर, एलन मस्कको ड्रिम प्रोजेक्ट रहेको छ। Starship लाई मानिस चन्द्रमा, मंगल ग्रह र अन्य ग्रहमा पुर्याउने अन्तरिक्ष यान बनाउने सपना रहेको मस्कले बताएका थिए। उनको मुख्य लक्ष्य मंगल ग्रहमा मानव बस्ती बसाउने रहेको पनि बताइएको छ। Starship को विकासले धेरै मानिस र सामान थोरै खर्चमा अन्तरिक्षमा पुर्याउन मद्दत हुने अपेक्षा गरिएको छ।
स्पेसएक्सले यसअघि गरेका फ्लाइट ७, ८ र ९ मा पनि विभिन्न प्राविधिक समस्याका कारण अपेक्षित नतिजा हासिल गर्न सकेको थिएन। अन्तरास्ट्रिय सञ्चार माध्यमका अनुसार, सातौं फ्लाइटमा Starship को इन्जिन प्रणालीमा असामान्य भाइब्रेसनका कारण इन्जिनहरू असफल भएका थिए र राकेटको पूर्ण नाश भएको थियो। त्यस्तै, आठौं फ्लाइटमा एक इन्जिनको इन्धन प्रणालीमा समस्या आएपछि, रकेटमा आगलागिको कारण उडान असफल भएको थियो। नौं फ्लाइटमा रकेटको मुख्य इन्धनमा आएको समस्याका कारण रकेटको पूर्ण नाश भयो। अहिले दशौँ फ्लाइटमा पनि ग्राउन्ड सिस्टममा समस्या आएको भन्दै स्थगित गरियो।
यसरी पटक-पटक असफल भए पनि SpaceX को Starship परियोजनाप्रति उत्साह र विश्वास कम भएको छैन। विश्वभरका अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सी र लगानीकर्ताहरू अझै पनि यस प्रयासलाई समर्थन गर्दैछन्। प्रविधि र अन्तरिक्ष अन्वेषणमा नयाँ उचाइ छुन खोज्ने SpaceX को जोश, चुनौती र असफलताप्रतिको धैर्यले कम्पनीलाई निरन्तर चर्चा र हाइपमा राखेको छ।