काठमाडौं — अमेरिकन इलेक्ट्रिक कार निर्माता टेस्लाले भारतमा पहिलोपटक आफ्नो सोरुम खोलेको केही दिनमै आफ्ना प्रारम्भिक समर्थकबाट अपेक्षित समर्थन नपाएको देखिएको छ।
मुम्बईको वान्द्रा-कुर्ला कम्प्लेक्सस्थित मेकर म्याक्सिटी मलमा ६ हजार वर्गफिट क्षेत्रफलमा स्थापना गरिएको थियो टेस्लाको सोरुम। सोरुम उद्घाटनको दिनै फिटनेस-टेक स्टार्टअप GOQii का सीईओ तथा टेस्लाकै प्रारम्भिक समर्थक, विशाल गोण्डल त्यहाँ उपस्थित हुन सफल भएका थिए। उनले सन् २०१६ अप्रिलमै टेस्लाको मोडल ३ प्रि-बुक गरेका थिए, त्यसबेला भारतमा टेस्लाको प्रवेशको कुनै निश्चितता थिएन। तर नौ वर्ष कुर्दा आफू निराश भएको गोण्डलले बताएका छन्। “पहिलो दिन सोरुम गएँ, तर त्यस्तो अनुभूति भएन जुन वर्षौं कुर्दा पाउँछु भन्ने सोचेको थिएँ,” उनले भनेका छन्। टेस्लाबाट रिफन्ड पाउनका लागि २०२३ सम्म दर्जनौँ इमेल पठाउनुपरेको उनको अनुभव रहेको छ। “पैसा फिर्ता लिन धेरै कठिन भयो,” उनले भने, “अझै रोचक कुरा के छ भने त्यो १,००० डलर टेस्लाको सेयरमा लगानी गरेको भए अझ फाइदा हुने थियो।”
यस्ता समस्या उनी मात्रै नभएर अन्य प्रारम्भिक समर्थकहरूले पनि भोगेको पाइएको छ। चेन्नईका टेक ब्लगर वरुण कृष्णनले व्यंग्य गर्दै भनेका छन्, “भारतमा प्रक्रिया ढिला हुनु सामान्य हो, तर हाँसो लाग्दो कुरा के भने, स्टारलिंकले समेत चाँडै स्वीकृति पायो , तर टेस्लाले भने करिब एक दशक समय लगायो।”
त्यसैगरी, टेस्लाले मुम्बई सोरुम उद्घाटनमा यी प्रारम्भिक बुकिङकर्ताहरूमध्ये कसैलाई पनि आमन्त्रण गरेको थिएन, न त कुनै अद्यावधिक जानकारी उपलब्ध गराएको थियो। गोण्डलले भने, “टेस्लाको यो सुरुवात न त उत्साहजनक थियो, न त एप्पलको सोरुम जस्तो स्तरको। एप्पलले उही स्थानमा सोरुम खोल्दा जुन चर्चा र उत्साह सृजना गर्यो, टेस्ला त्योभन्दा निकै पछाडि परेको देखियो।”
भारतमा टेस्लाको सुरुवाती यात्रा र त्यसमा आफ्ना समर्थकहरूको असन्तुष्टिले कम्पनीको बजार रणनीतिमा गम्भीर प्रश्न उठाएको छ।
फोन्रेडारका संस्थापक अमित भवानीदले सोरुम उद्घाटनलाई “सबैभन्दा चिसो सुरुवात” भनेर वर्णन गरेका छन्। उनले सन् २०१६ मै बुक गरेको मोडल ३ को रिफन्ड २०२० मा युट्युबमा आलोचना गरेपछि मात्रै प्राप्त गरेको बताएका छन्। “त्यही भिडियोमा अरू धेरै व्यक्तिहरूले पनि कमेन्ट गर्दै रिफन्ड नपाएको अनुभव बाँडेका छन्,” उनले भने।
गोण्डलको भनाइमा, “कम्तीमा टेस्लाले बुकिङ गर्ने सबैलाई एउटा इमेल गरेर भनिदिन सक्थ्यो — तपाईंहरूका लागि विशेष कार्यक्रम आयोजना हुँदैछ। उनीहरू कुनै साधारण समर्थक थिएनन्, त्यो सानो रकमभन्दा पनि उनीहरूले विश्वास देखाएका थिए।”
अरू प्रारम्भिक बुककर्ताहरूले पनि समान निराशा प्रकट गरेका छन्। फ्रामर एआईका सह–संस्थापक तथा सीटीओ कवलजित सिंह बेदीले भने आफूले समर्थन गरेकैमा पछुतो नभए पनि अब तत्काल टेस्ला किन्न नचाहेको बताएका छन्। “नौ वर्ष कुरेँ, अब के हतार? अब त थप ६ महिना कुर्न गाह्रो छैन,” उनले व्यंग्य गर्दै भने।
फोनअरेनाका कृष्णन भन्छन्, “विजय शेखर शर्मा वा विशाल गोण्डल जस्ता व्यक्तिहरूले कुनै कुरामा विश्वास देखाउँछन् भने सयौँले उनीहरूको कुरा मान्छन्। उनीहरू आफैँ निराश छन् भने त्यसको असर व्यापक हुन्छ।”
पेटीएमका संस्थापक तथा सीईओ विजय शेखर शर्माले पनि टेस्लालाई समर्थन नगर्ने स्पष्ट संकेत दिँदै भने, “अब धेरै ढिला भइसकेको छ। भारतका लागि मूल्य–गुणस्तरको हिसाबले अन्य धेरै विकल्पहरू उपलब्ध छन्।”
सन् २०१६ मै मोडल ३ प्रि-बुक गरेका टेस्ला क्लब इन्डियाका संस्थापक अरुण भट्टले कम्पनीप्रति गहिरो निराशा व्यक्त गरेका छन्।“हामीले तिर्ने, वर्षौँ कुर्ने, तर अन्त्यमा न आमन्त्रण, न कुनै विशेष व्यवहार। सूचना आदान-प्रदानको पूर्ण अभावले हामीलाई अपमानित महसुस गरायो,” उनले भने। क्लबका अर्का संस्थापक निकिल चौधरीसँग मिलेर २०१९ मा सुरु भएको समूह अहिले टेस्ला केन्द्रित नभई समग्र इभी तथा स्वच्छ उर्जा जागरण क्लबमा रूपान्तर भएको छ।
भारतमा टेस्लाको उपस्थिति कति व्यावहारिक हुन्छ भन्ने सवालमा धेरै सुरुवाती समर्थकहरू अझैआशङ्कामा छन्। कम्पनीले दिल्ली र मुम्बईमा समान रूपमा आठ वटा चार्जिङ स्टेसन बनाउने योजना जनाएको भए पनि ती दुई सहरमा मात्र सीमित हुँदा सबै प्रयोगकर्तालाई कत्तिको सहज हुन्छ भन्ने अन्योल कायमै छ। अफ्टर-सेल्स सर्भिसबारे पनि कम्पनीले अहिलेसम्म कुनै स्पष्ट योजना सार्वजनिक गरेको छैन।
“नौ वर्षमा म पनि परिपक्व भइसकेँ,” फोनअरेनाका कृष्णनले भने, “अब टेस्ला ब्रान्ड ट्यागले मात्रै पुग्दैन, व्यावहारिकता हेर्छु।”
फ्रामर एआईका बेदी थप्छन्, “चार्जिङ नेटवर्क नभएको थाहा हुँदाहुँदै पहिलो कार किन्ने उत्साह छैन।”
टेस्लाका लागि भारत विशाल बजार हो, तर सुरुवातमै आफ्ना भरोसेमन्द समर्थकहरूलाई बेवास्ता गर्दा कम्पनीले दीर्घकालीन विश्वास गुमाउने खतरा देखिएको छ। ब्रान्ड मूल्यले मात्र अब भारतीय बजारमा टिकिरहन सक्दैन भन्ने सन्देश यिनै प्रतिक्रिया र अनुभवले दिइरहेका छन्।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यम TechCrunch मा प्रकाशित लेखको सहयोगमा )