काठमाडौं। AI को प्रयोग बढेसँगै यसलाई प्रयोग गर्ने शैली पनि दिनप्रतिदिन परिवर्तन हुँदै गएको छ। अब ChatGPT जस्ता उपकरणलाई उत्तर दिने टुल भन्दा पनि आफ्नै जीवन र काम बुझ्ने AI कन्सल्टेन्टको रूपमा प्रयोग गर्न सकिने नयाँ विधि सार्वजनिक भएको छ। यो प्रविधि Stanford University का प्राध्यापक Jeremy Utley ले प्रस्तुत गरेका हुन्।
Utley ले प्रस्ताव गरेको ‘Stanford Prompt Method’ अनुसार, प्रयोगकर्ताले ChatGPT सँग प्रत्यक्ष आदेश मात्र दिने होइन, बरु AI लाई आफैंले प्रश्न गर्न दिने गरी संवाद सुरु गर्नुपर्छ। उदाहरणका लागि, ‘तपाईं मेरो निजी सल्लाहकार हुनुहुन्छ। मलाई राम्रोसँग बुझ्नका लागि पहिले मलाई प्रश्न सोध्नुहोस्।’ भन्ने प्रोम्प्ट दिँदा ChatGPT ले प्रयोगकर्ताको लक्ष्य, चुनौती र प्राथमिकताबारे सोध्छ। यसपछि प्राप्त उत्तरका आधारमा सल्लाह दिने भएकाले संवाद अझ गहिरो र व्यक्तिगत बन्छ।
यो विधि साधारण प्रश्न–उत्तर प्रणालीभन्दा फरक छ। प्रायः प्रयोगकर्ताले ChatGPT सँग “कसरी लेख्ने?” वा “कस्तो विचार दिने?” भन्ने सोध्ने गर्दछन्। तर Stanford Prompt Method मा भने व्यवसायिक कन्सल्टेन्टले जस्तै, AI ले प्रयोगकर्तालाई नै प्रश्न सोध्दै जानकारी संकलन गर्छ। यसरी प्राप्त जानकारीकै आधारमा AI ले कार्ययोजना र सुझाव दिन्छ।
आधिकारिक रुपमा पुष्टि नभए पनि, Stanford प्रोफेसरले प्रस्तुत गरेको यस विधि अपनाएर AI लाई आफ्नो व्यक्तिगत कन्सल्टेन्टको रूपमा प्रयोग गर्न सकिएको अनुभव अनलाइनमा पाउन सकिन्छ।
नेपाली प्रयोगकर्ताका लागि पनि यो विधि उपयोगी हुन सक्छ। नेपालमा व्यवसाय, अध्ययन र स्टार्टअपहरू तीव्र गतिमा अघि बढिरहेका छन्। तर अनुभवी कन्सल्टेन्ट वा सल्लाहकार सबैका लागि अफोरडेबल (affordable) नहुन सक्छन्। यस्तो अवस्थामा AI कन्सल्टेन्ट प्रयोग गरेर विद्यार्थीले अध्ययन रणनीति, व्यवसायीले बजार रणनीति वा व्यक्तिगत प्रयोगकर्ताले सामान्य योजना बनाउन सहयोग पाउन सक्छन्।
तर पछिल्लो समयमा, AI सँग व्यक्तिगत कुरा सेयर गर्दा गोपनीयता कायम नहुने र संवाद लिक हुने जस्ता घटनाहरू भइराख्दा, AI लाई ढुक्कैसँग आफ्नो व्यक्तिगत जानकारी दिनु चुनौतिपूर्ण देखिन्छ। यस कारण, AI लाई कन्सलटेन्टका रुपमा प्रयोग गरिराख्दा कति सम्मको जानकारी दिने भन्ने कुरा विचार गरेर मात्र प्रयोग गर्नु उचित देखिन्छ।